दूतावासको आयोजनामा क्यानबेरामा राष्ट्रिय दिवस धुमधामसँग मनाइयो

दूतावासको आयोजनामा क्यानबेरामा राष्ट्रिय दिवस धुमधामसँग मनाइयो


क्यानबेरा, अष्ट्रेलिया ।

अष्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाली दूतावासले नेपालको राष्ट्रिय दिवस, संविधान दिवस मनाएको छ । बुधबार झण्डोत्तोलनपछि साँझ विशेष कार्यक्रम आयोजना गरी नेपाल दिवस मनाइएको हो । कार्यक्रममा सहभागी हुन अष्ट्रेलियाको विदेश मन्त्रालय डिपार्टमेन्ट अफ फरेन अफेयर्स डीफ्याटका अधिकारीहरु, अष्ट्रेलियन संघीय सांसदहरु, विभिन्न देशका राजदूतहरु, संघसंस्थाका प्रतिनिधिहरु क्यानबेरा पुगेका थिए ।

कार्यक्रममा अतिथिहरुलाई स्वागत गर्दै अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले सन् २०१५ मा संविधानसभा मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको अवगत गराएका थिए ।

विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तनपछि देशले गणतान्त्रिक संविधान पाएको र यसलाई राष्ट्रिय दिवसको रुपमा विदेशमा रहेका नियोगहरुले मनाउँदै आएका छन् । कार्यक्रममा राजदूत पोखरेलले नेपाल आर्थिक विकास र समुन्नतिमा केन्द्रित रहेको पनि जानकारी दिएका थिए ।

कार्यक्रममा नेपालको संगीत धुन बजाइएको थियो भने पर्यटकीय गन्तव्यहरुको जानकारी दिने भिडियो समेत देखाएको थियो ।

यसअघि अष्ट्रेलियाका गभर्नर डेभिड हर्लेले एक सन्देश पठाउँदै नेपालका राष्ट्रपति रामचन्द्र पौडेललाई संविधान दिवसको शुभकामना दिएका थिए । अष्ट्रेलियाका गभर्नरले नेपाल दिवसको अवसरमा सन्देश पठाएको यो पहिलो पटक थियो । सन्देशमा दुई देशका जनताबीचको सम्बन्ध अझ प्रगाढ हुने आशा व्यक्त गरिएको छ