मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले पपुवा न्यूगिनीका लागि गैरआवासीय नेपाली राजदूतको रुपमा ओहोदाको प्रमाणपत्र बुझाएका छन् । गभर्नर जनरल बब डाडेई समक्ष एक विशेष समारोहकाबीच आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । पपुवा न्यूगिनीमा गैरआवासीय राजदूतको रुपमा नियुक्ति हुने पोखरेल पहिलो राजदूत हुन् ।
ओहोदाको प्रमाणपत्र बुझाइसकेपछि आयोजना गरिएको विशेष समारोहमा राजदूत पोखरेलले गभर्नर जनरललाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट गभर्नर जनरलको स्वास्थ्य, खुशी तथा पपुवा न्यूगिनीको निरन्तर प्रगति, शान्ति तथा त्यहाँका जनताको सम्बृद्धिको सन्देश दिनुभएको थियो ।
सन् २०१३ मा दुई देशबीच भगिनी सम्बन्ध स्थापना भएपछिको आपासी सहकार्य, दुईदेशबीचका समान अवस्थाहरु लगायतका विषयमा कुराकानी भएको थियो । दुई देशबीचको सहकार्यका विभिन्न क्षेत्रलाई पहिल्याउने र सम्बन्धलाई अझ बजबुत बनाउन गर्न सकिने कार्यहरुको समेत उक्त अवसरमा चर्चा भएको थियो ।
यसको प्रत्युत्तरमा गभर्नर जनरल बब डाडेईले दुई देशबीचको सम्बन्ध सदैव बलियो हुने विश्वास व्यक्त गरेका थिए । साथै उनले दुईदेशबीचको सम्बन्ध प्रगाढ बनाउनका लागि गर्न सकिने कार्यहरुमा आफ्नो सदैव साथ रहने धारणा राखेका थिए । उनले राजदूत पोखरेललाई यस नियुक्तिका निम्ति बधाई समेत दिएका थिए ।
उक्त अवसरमा राजदूत पोखरेलले महिलाविरुद्धको सबैखाले विभेद अन्त्य कमिटीको अध्यक्षका रुपमा पुनः उम्मेद्वार बन्नुभएकी बन्दना राणाको पक्षमा सहयोग अपिल समेत गरेका थिए ।
प्रतिक्रिया