नेकपा एमालेले राष्ट्रिय सभा चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने

नेकपा एमालेले राष्ट्रिय सभा चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने


काठमाडौं, १९ माघ । नेकपा एमालेले राष्ट्रिय सभाको चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने भएको छ । भक्तपुरको गठ्ठाघरस्थित एक पार्टी प्यालेसमा सम्पन्न केन्द्रीय सचिवालय बैठकले अन्तर्घात गर्नेहरुलाई कारबाही गर्ने निर्णय गरेको हो ।
बैठकले राष्ट्रिय सभा सदस्य चुनावमा प्रदेश १ र सुदूरपश्चिममा भएको अनुशासन उल्लङ्घन एवम् अन्तर्घातको छानबिन गर्न कारबाहीका लागि सिफारिस गर्न प्रदेशलाई निर्देशन दिएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
केही दिन अगाडि पार्टी छाड्नुभएकी तुलसीपुर उपमहानगरपालिकाकी उपमेयरलाई निष्कासन गर्ने निर्णय सचिवालय बैठकले गरेको जानकारी दिँदै प्रचार विभाग प्रमुख गुरुङले रौतहट र पर्सामा जिल्ला अधिवेशनमा देखिएको विवाद समाधान गर्न केन्द्रीय सङ्गठन विभागलाई जिम्मेवारी दिइएको जानकारी दिनुभयो ।
यस्तै सरकारले स्थानीय तहको मिति भोलि बिहीवारसम्म नतोके सातै प्रदेश र केन्द्रबाट दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । बैठकले यसै हप्ता केन्द्रमा प्रशिक्षण कार्यक्रम गर्ने, प्रदेशमा पनि कार्यक्रम सञ्चालन गर्ने, आफूहरूले गरेको राम्रा कामको प्रचार गर्दै स्थानीय तह चुनाव जित्ने रणनीतिका साथ अगाडि बढ्ने गुरुङले जानकारी दिनुभयो ।
बैठकले महिला, युवा, विद्यार्थी र किसान महासङ्घबाहेकका अन्य जनसङ्गठनको महाधिवेशन प्रक्रिया अघि बढाउने निर्णय गरेको, पार्टीको नियमावली, जनसङ्गठनको निर्देशिका पारित गरेको र सहकारी तथा स्थानीय निकाय विभागमा सदस्य थप्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । चैत महिनासम्म पार्टी सदस्यता वितरण र नवीकरण गरिसक्ने निर्णय गर्दै बैठकले पार्टी सदस्यतासम्बन्धी अभिलेख राख्न प्रत्येक जिल्लामा आइटी विज्ञ राख्ने एमालेले निर्णय गरेको छ ।