पोखरा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष कार्कीसँग एनबीए तास्मानीयको भेट

पोखरा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष कार्कीसँग एनबीए तास्मानीयको भेट


होबार्ट, तास्मानिया ।

पोखरा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीसँग नेप्लिज बिजनेस एसोसियसन अफ तास्मानियाका पदाधिकारीले भेटवार्ता भएको छ। व्यक्तिगत भ्रमणमा अष्ट्रेलिया आएका वरिष्ठ उपाध्यक्ष कार्कीसँग एनबीए तास्मानियाका पदाधिकारीले मंगलबार छलफल गरेका हुन्। 

होबार्टस्थित एनबीए तास्मानियाको कार्यालयमा भएको भेटघाटका क्रममा पोखराको पर्यटन व्यवसायको प्रवर्द्धनमा तास्मानियाका नेपाली व्यवसायीले गर्न सक्ने सहयोगका बारेमा छलफल भएको सचिव उमेश सुनचौरीले जानकारी दिए। 

भेटका क्रममा एनबीएका पदाधिकारीले नेपाल सरकारसँग वकालत गर्न उद्योग वाणिज्य संघले खेलेको भूमिकाका लागि धन्यवाद दिएका थिए। नेपालमा उत्पादित बस्तु विदेशमा निर्यात गर्दा हुने झन्झटिलो प्रक्रिया र लाग्ने करको दरका बारेमा महासंघका तर्फबाट सरकारसँग पहल गरिदिन आग्रह गरेको सचिव सुनाचौरीले जानकारी दिए। विदेशमा बस्ने नेपाली व्यवसायीहरूले स्वदेशमा लगानी गर्दा महासंघले सहजिकरणका लागि के कस्ता कार्यहरू गरिरहेको छ भन्ने जिज्ञासा राखेको उनले बताए। 

तास्मानियाका नेपाली व्यवसायीहरूले स्थानीय व्यवसायहरूको समग्र लाभ हुने गरी नेपाल उद्योग वाणिज्य महासंघकाबीचमा निरन्तर सम्बन्ध स्थापित गर्नुपर्ने धारणा राखेका थिए।

जवाफमा वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले तास्मानियाका नेपाली व्यवसायीले राखेका समस्याका बारेमा आफुले महासंघ मार्फत सरकारसँग पहल गर्ने बताएका थिए। उनले यहाँका नेपाली व्यवसायीहरुको हकहितको बारेका के कसरी कामहरू भइरहेका छन् भन्ने बारे चासो राखेका थिए। उनले विदेशी भूमिमा रहेर पनि व्यवसायी क्षेत्रमा नेपालीले गरेको प्रगतिको प्रशंसा गरेका थिए। 

यस्तै भेटमा नेपाली सोसाइटी अफ तास्मानियाका नवनिर्वाचित अध्यक्ष संसारराज चिमोरियाले नेपाल उद्योग वाणिज्य महासंघको जस्तै एनबीएले पनि सामाजिक उत्तर दायित्वको बोध गर्नुपर्ने धारणा राखेका थिए। 

भेटमा तास्मानियामा रहेका विभिन्न संघ–सस्थाका पदाधिकारी, नेपाली व्यवसायी र समाजका अगुवाहरुका साथै केबीसी खबरका तास्मानिया संयोजक तथा एन्जाका कोषाध्यक्ष खगेन्द्र सत्यालको पनि उपस्थिति रहेको थियो।