काठमाडौं महानगर-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

काठमाडौं महानगर-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन


काठमाडौँ ।

काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ। उनको निमोनियाका कारण निधन भएको हो।

वडाध्यक्ष रिजाललाई उपचारका लागि यही भदौ १७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो। अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका उनको दुवै फोक्सोमा सिभियल निमोनिया (भाइरल निमोनिया) का कारण आज बिहान ७ः३० बजे निधन भएको अस्पतालका निर्देशक डा विनोद विजुक्छेले जानकारी दिए।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ का क्षेत्रीय सभापतिसमेत रहेका वडाध्यक्ष रिजाल २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका–१६ मा दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका थिए। रिजाल ४ हजार ५ मतका साथ अध्यक्षमा विजयी भएका थिए। उनले नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरलाई पराजित गरेका थिए।

वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा छन्। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारका एक सदस्यले जानकारी दिए।