आवधिक र अन्य चुनावका लागि तयार रहन राष्ट्रपतिको सुझाव

आवधिक र अन्य चुनावका लागि तयार रहन राष्ट्रपतिको सुझाव


काठमाडौं, १७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले आवधिक र अन्य चुनावका लागि तयार रहन निर्वाचन आयोगलाई सुझाव दिनुभएको छ । चुनावको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवम् सुदृढीकरण गर्न त्यसमा बढीभन्दा बढी मतदाताको सहभागिता गर्ने÷गराउनेतर्फ काम गर्न राष्ट्रपति भण्डारीले आयोगलाई यस्तो सुझाव दिनुभएको हो ।
आयोगद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन पेस ग्रहण गर्दै उहाँले चुनाव प्रणालीलाई लैङ्गिकमैत्री बनाउन र सबै मतदाताको मताधिकार सुनिश्चित गर्न तथा मतदानस्थल एवम् केन्द्र मतदातामैत्री बनाउन आयोगको ध्यानाकर्षण गराउनुभयो ।
‘आयोगले राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय सभा सदस्य, प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्यसमेतको चुनाव गराउने महत्त्वपूर्ण जिम्मेवारी र अवसर पाएको छ । शान्ति, स्थिरता र विकासका लागि संविधान तथा प्रचलित कानुनमा तोकिएको समयसीमाभित्र नै सबै चुनाव सम्पन्न गर्न आवश्यक छ । आवधिक र अन्य चुनावका लागि आयोग मनोवैज्ञानिक तथा भौतिक रूपमा तयारी अवस्थामा रहनुपर्छ’, राष्ट्रपति भण्डारीले भन्नुभयो ।
राष्ट्रपति भण्डारीले स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित चुनावका लागि गम्भीरता र दृढतापूर्वक काम गर्न आयोग सक्षम हुने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपालको संविधानको धारा २९४ बमोजिम निर्वाचन आयोग नेपालले विसं २०७७ साउन १ गतेदेखि २०७८ साल असार मसान्तसम्म सम्पादन गरेका काम कारबाहीको पन्ध्रौँ वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारी समक्ष पेस गरेको हो ।
यसअघि प्रतिवेदन पेस गर्दै प्रमुख आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन वर्षमा भए गरेका निर्वाचनसम्बन्धी नीति एवम् कानुनहरूको तर्जुमा, राजनीतिक दल दर्ता र त्यसको व्यवस्थापन, मतदाता नामावली सङ्कलन तथा अद्यावधिकको अवस्था, मतदाताको सङ्ख्यात्मक विवरण, राष्ट्रिय सभा सदस्यको उपचुनाव लगायतका विषयमा जानकारी गराउनुभयो ।