हराएको खोप खोज्न छानविन समिति गठन !

हराएको खोप खोज्न छानविन समिति गठन !


काठमाडौं, १६ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हराएको २४ लाख डोज खोपका विषयमा छानविन गर्न समिति गठन गरेको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको नेतृत्वमा ५ सदस्य समिति गठन भएको हो ।
समितिले दुइ हप्तामा खोपको अभिलेखको बारेमा प्रतिवेदन सार्वजनिक गर्ने मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो– ‘खोपको अभिलेखको बारेमा विभिन्न संचारमाध्यममा उठेको प्रश्नहरुको बारेमा अभिलेख अध्यावधिक गर्नको लागि ५ सदस्य समिति गठन गरिएको छ । र सो समितिले दुई हप्तामा खोपको अभिलेखको बारेमा स्पष्ट पार्नेछ ।’
साथै मन्त्रालयले सबै प्रदेश जिल्ला र स्थानीय तहहरुलाई कोभिड १९ विरुद्धको खोपको बारेमा पूर्ण अभिलेख राख्न र प्रतिवेदन चुस्त दुरुस्त बनाउँदै खोपसँग सम्बन्धित तथ्यांक केन्द्रसम्म पठाउन आग्रह गरेको छ ।
यही माघ ४ गते संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले चीनबाट खरिद गरेको २४ लाख खोप हराएको बताउनुभएको थियो । विभिन्न देशबाट नेपाल भित्रिएकोमध्ये करिब २४ लाख डोज बुस्टरडोज खोप ‘गायब’ भएको थियो ।
मन्त्रालयका सचिव डा. पोखरेलले विभिन्न दाताबाट नेपालले प्राप्त गरेको र खरिद गरेकोमध्ये २० देखि २४ लाख डोज खोप लगाएको तथ्याङ्क नभएको बताउनुभएको थियो ।