अभिनेत्री निरुता सिंहले कसिन् लगनगाँठो

अभिनेत्री निरुता सिंहले कसिन् लगनगाँठो


काठमाडौँ । अभिनेत्री निरुता सिंह वैवाहिक जीवनमा बाँधिएकी छिन्। हाल मुम्बईमा रहँदै आएकी नेपाली चलचित्रकी चर्चित नायिका सिंहले मुम्बईका संजीभ गुलाटीसँग विवाह गरेकी हुन।

उनले सो जानकारी आफैले सामाजिक सञ्जालबाट दिएकी हुन। दक्षिणा, आफन्तजस्ता दर्जनौ हिट फिल्म दिएकी अभिनेत्री सिंहले फेसबुकमार्फत सो जानकारी गराएकी हुन।

भारतको दार्जलिङमा जन्मेकी सिंहले नेपाली सिने क्षेत्रमा सन् १९९३ मा फिल्म दक्षिणाबाट डेब्यू गरेकी थिइन्। उनले ५० भन्दा बढी नेपाली फिल्ममा अभिनय गरिसकेकी छन्। दर्पण छाया, सिउँदोको सन्दुर, ठूल्दाइ, नाइँ नभन्नू ल ५ उनका चर्चित फिल्म हुन्।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्ः

मलाई माया गर्नु हुने मेरो सम्पूर्ण घर परिवार, आफ़न्त तथा छर छिमेकहरु, मेरा चलचित्रकर्मी साथीभाई अनि अग्रज व्यक्तित्वहरु, बिभिन्न माध्यमका संचारकर्मीहरुलगायत मलाई माया गरेर मेरो चरलचित्र हेरेर मेरो चलचित्रलाई सफल बनाई मलाई ‘निरुता सिंह’बनाईदिनु हुने मेरा सम्पूर्ण माननीय, पूजनीय अनि ढोगनीय दर्शक महानुभावहरुको यतीका वर्ष देखीको एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तरवार्ता पूर्ण हुदैन थियो । त्यो हो ‘निरुताजी बिहें कहिले गर्ने ?’ भन्ने प्रश्न ‘आज तेसै प्रश्नको जवाब दिन गई रहेको छु ‘।

तपाईहरुको निरुता सिंहले गत बिहिबारका दिन मुम्बई निवासी श्री संजीभ गुलाटीसँग लगनगाठो जोड़ेको छ । हजुरहरु सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको छु । चाडै सबैलाई भेट गर्न अनि आशीर्वाद लिन नेपाल आउने छु । धेरै धेरै माया ।