बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी

बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी


काठमाडौँ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का बागमती प्रादेशिक क्रिकेट सङ्घको अध्यक्ष पदमा निर्वाचित भएका छन्।

सङ्घको आज सम्पन्न दोस्रो अधिवेशन तथा साधारणसभाले अध्यक्ष खड्कासहित १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। पारस आफना प्रतिद्वन्द्वी उमेश पियालाई नौ मतको अन्तरले पछाडि पार्दै विजयी भएका हुन्। पारसले २३ मत प्राप्त गर्दा उमेशले १४ मत प्राप्त गरेका थिए।

पारस काठमाडौँ जिल्ला क्रिकेट सङ्घका कार्यसमिति सदस्य तथा उमेश चितवन जिल्ला क्रिकेट सङ्घका उपाध्यक्ष हुन्। त्यसैगरी २३ मत प्राप्त गर्नुभएका प्रेमबहादुर क्षेत्री उपाध्यक्षमा निर्वाचित भए। उनका प्रतिस्पर्धी रूपक रञ्जितले १४ प्राप्त गरेका थिए।

यसैगरी सचिवमा प्रशन्न शाक्य निर्वाचित भए। उनले २३ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी प्रज्वल सापकोटाले १४ मत प्राप्त गरेका थिए। कोषाध्यक्षमा सञ्जय बस्नेत विजयी भए। त्यस्तै सदस्यहरूमा अजयवीर पाण्डे, अनिल अधिकारी, सञ्जोग श्रेष्ठ, सुजन महर्जन, धीरज श्रेष्ठ, शेखर श्रेष्ठ र वसन्तराज सत्याल निर्वाचित भए।

महिला सदस्यामा भने निरा राजोपाध्याय निर्विरोध निर्वाचित भए। मतदानमा छ जिल्लाका २४ र निवर्तमान कार्यसमितिका १३ सदस्य गरी कूल ३७ मत खसेको थियो।

नेपाल क्रिकेट सङ्घ (क्यान)को केन्द्रिय चुनाव आगामी असोज पहिलो साता हुँदैछ। त्यसअघि ४५ जिल्ला र सात प्रदेशको निर्वाचन सम्पन्न भएको छ।