अष्ट्रेलियाले दिँदै आएको कोभिड भिसाको नयाँ आवेदन सेप्टेम्बर २ तारिखबाट बन्द

अष्ट्रेलियाले दिँदै आएको कोभिड भिसाको नयाँ आवेदन सेप्टेम्बर २ तारिखबाट बन्द



मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियन सरकारले दिँदै आएको कोभिड १९ भिसा सेप्टेम्बर २ तारिखबाट नयाँ आवेदन बन्द र फेब्रुअरी २०२४ बाट पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । सेप्टेम्बर १ तारिख मध्यरातसम्ममा नयाँ आवेदन दिन सकिनेछ । यसपछि कोभिड भिसामा रहेकाहरुले मात्र फेब्रुअरी २४ तारिखसम्म बढाउनका लागि आवेदन दिन सक्नेछन् ।

नयाँ आवेदन दिने अवधि शुक्रबार मध्यरात १२ बजेसम्म मात्र छ । मेलबर्नमा केन्द्रीय कार्यालय रहेको म्याक्सीम्याक्स एजुकेशन एण्ड माईग्रेसन सर्भिसेजका निर्देशक शंकर धरेलले अष्ट्रेलियन अध्यागमनको तर्फबाट आएको सूचनामा सेप्टेम्बर २ तारिखपछि हाल कायम रहेका कोभिड १९ भिसावाहकहरुले समय थपका लागि आवेदन दिँदा ४ सय ५ डलर आवेदनशुल्क समेत बुझाउनु पर्ने प्रावधान ल्याइएको छ । यसअघि कोभिड १९ भिसा निःशुल्क थियो ।

कोभिड १९ को महामारीको समयमा अष्ट्रेलियामा रहेका र तत्कालै आफ्नो देशमा जान नसकिने अवस्थामा सरकारले यो भिसा लागू गरेको थियो । जसमा यहाँका नागरिकलाई जस्तै काम गर्न पाउने अधिकार थियो । साथै, कोभिडका कारण अष्ट्रेलियाका विभिन्न क्षेत्रमा देखिएको कामदार अभावलाई समेत पूर्ति गर्ने उद्देश्यका साथ यो भिसा लागू गरिएको थियो ।

सुरुमा यो भिसा १२ महिनाको लागि दिइए पनि अहिले यो घटाएर ६ महिनाको बनाइएको छ । यद्यपि भिसाको निर्णय हुन नै कैयौं महिना लाग्ने गरेको थियो ।