काठमाडौँ ।
एसिया कप क्रिकेटमा नेपाललाई चौथो सफलता मिलेको छ। पाकिस्तानले २८औँ ओभरको पाँचौँ बलमा आगा सलमानका रूपमा चौथो विकेट गुमाएको छ। उनलाई सन्दीप लामिछानेले कुशल भुर्तेलद्वारा क्याच आउट गराएका छन्।
यसअघि पाकिस्तानले २३ दशमलव चार ओभरमा मोहमद रिजवानलाई तेस्रो विकेटको रूपमा गुमाएको थियो। रिजवानले ५० बलमा छ चौकाको मद्दतमा ४४ रन बनाए । उनलाई सन्दीप लामिछानेको बलमा दिपेन्द्रसिंह ऐरीले रन आउट गराएका हुन्।
आज नेपालले खेलको प्रारम्भमै राम्रो सुरुआत गरेको थियो। पाकिस्तानविरुद्धको उद्घाटन खेलमा नेपालले सुरुआतमै दुई विकेट हात पारेको थियो। नेपालका लागि पहिलो विकेट करण केसीले लिए। उनले छैटौँ ओभरको तेस्रो बलमा फखर जमानको विकेट लिएका थिए। त्यतिबेला पाकिस्तानको कूल स्कोर मात्र २१ रन थियो। जमानले २० बल खेल्दै तीन चौकाको मद्दतमा १४ रन बनाए।
पाकिस्तानले लगत्तै इमाम उल हकका रूपमा दोस्रो विकेट गुमाएको थियो। सातौँ ओभरमा सोमपाल कामीले बलिङ गरिरहेका बेला उनलाई कप्तान रोहितकुमार पौडेलले रनआउट गरे। हकले १४ बल खेल्दै एक चौका हिर्काएर मात्र पाँच रन बनाए। त्यतिबेला पाकिस्तानको कूल स्कोर २५ रन मात्र थियो।
मुल्तान रङ्गशालामा टस जितेर पाकिस्तानले पहिला ब्याटिङ रोजेको थियो। आरिफ शेखले पाँचौँ ओभरको पाँचौँ बलमा इमाम उल हकको क्याच छोडेका थिए। केहीबेर अघिसम्म पाकिस्तानले ३२ दशमलव चार ओभरको खेल सकिँदा चार विकेटको क्षतिमा एक सय ५६ रन बनाएको छ। नेपालका लागि करण केसी र सन्दिप लामिछानेले एक–एक विकेट लिएका छन्।
प्रतिक्रिया