क्वीन्सल्याण्ड नेपाली सांस्कृतिक केन्द्रलाई सहयोग गर्न तीज कार्यक्रम

क्वीन्सल्याण्ड नेपाली सांस्कृतिक केन्द्रलाई सहयोग गर्न तीज कार्यक्रम


ब्रिस्वेन, अष्ट्रेलिया ।

क्विन्सल्याण्डको ब्रिस्वेनमा बन्न लागेको नेपाली सांस्कृतिक केन्द्र (क्वीएनसीसी)लाई सहयोग गर्न तीज कार्यक्रमको आयोजना गरिएको छ। गैर आवासीय नेपाली संघ (एनआरएनए) क्विन्सल्याण्डको आयोजनामा १५ सेप्टेम्बरमा उक्त कार्यक्रम हुन लागेको हो। 

स्ट्र्याथपाइन कम्युनिटी सेन्टर ब्रिस्वेनमा हुन लागेको उक्त कार्यक्रममा नेपालका चर्चित कलाकार नेपालका चर्चित कलाकार प्रकाश सपुत, प्रिति आले र सिन्धु मल्लको प्रस्तुति दिने एनआरएनए क्वीन्सल्याण्डका नवनिर्वाचित संयोजक शम्भु गाईसीले जानकारी दिए। शुक्रबार साँझ ५ः३० बाट सुरु हुने कार्यक्रमको टिकट २५ अष्ट्रेलियन डलर तोकिएको उनले बताए। तीज कार्यक्रममा निःशुल्क दरको व्यवस्था पनि गरिएको छ।

उक्त तीज मेलाको टिकट बिक्रीबाट उठेको रकम (खर्च कटाएर बाँकी) क्युएनसिसिलाई दिने नवनिर्वाचित संयोजक गाईसीले केबीसीलाई जानकारी दिए। समुदायका अगुवाहरुको सुझाव र नेपाली सांस्कृतिक केन्द्रको महत्वलाई ध्यानमा राख्दै खर्च कटाएर बाँकी रहेको रकम क्वीएनसीसीको खातामा जम्मा गर्ने निर्णय भएको उनले बताए। उनले यस कार्यमा क्विन्सल्याण्डवासी नेपालीहरुको साथ र सहयोग रहने विश्वास व्यक्त गरेका छन्। एनआरएनएले आयोजना गरेको तीज कार्यक्रमलाई भव्य र सभ्य बनाउन सबै क्विन्सल्याण्डवासी नेपालीहरुलाई उनले आग्रह पनि गरेका छन्। 

उनले कार्यक्रमलाई सफल पार्नको लागि सहयोग गर्ने सम्पूर्ण प्रायोजक तथा व्यवसायी संस्थाहरूप्रति आभार प्रकट गरेका छन्। 

ब्रिजवेनमा नेपाली सांस्कृतिक केन्द्र निर्माण गर्न ४ हेक्टर जमिन खरिद गर्न ११ लाख अष्ट्रेलियन डलर संकलन भइसकेको छ। नेपाली सांस्कृतिक केन्द्रको जग्गा किन्न करिब १५ लाख अष्ट्रेलियन डलर खर्च हुने क्वीएनसीसीले जनाएको छ। अहिले क्युएनसिसिले आजीवन सदस्यता तथा चन्दामार्फत सहयोग जुटाउने कार्य तीव्र पारेको छ।