मेलबर्न, अष्ट्रेलिया ।
लामो इतिहास बोकेको मेलबर्नको यति फुटबल क्लबको अध्यक्षमा कर्ण राना निर्वाचित भएका छन्। यसअघिका तीन कार्यकाल राज शर्माले नेतृत्व गरेका थिए।
मेलबर्नमा आयोजना गरिएको साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएको नवनिर्वाचित उपाध्यक्ष सज्जन शर्माले जानकारी दिए। रानासँगै उपाध्यक्षहरूमा शर्मा र अनामिका राई, कोषाध्यक्षमा बिपस्ना लामा, सचिवमा रुक्शन राई, सहसचिवमा भरत राना, सदस्यमा इन्द्र गुरुङ, विशन गुरुङ, सुरुची श्रेष्ठ, लक्ष्मी गुरुङ,मोनिका महर्जन छनोट भएका छन्।
यति फुटबल क्लबले फुटबलका गतिविधि मात्र नभएर विभिन्न सामाजिक कार्यमा समेत क्रियाशील रहँदै आएको छ। सन् २००१ मा स्थापना भएको यति एफसीसँग सन् २०१५ मा अष्ट्रेलियाको घरेलु फुटबल संरचनाको पहिलो खुड्किलो मानिने ‘स्टेट फाइभ लिग’ खेलिसकेको इतिहास छ।
यति एफसी हाल सामुदायिक फुटबल ‘सन्डे फुटबल’ खेलिरहेको छ। अष्ट्रेलियाको लिग संरचनामा उपस्थिति जनाउने प्रयासमा रहेको क्लबले नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका अन्तर्राष्ट्रिय खेलाडी तथा नेपालको सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिसकेका खेलाडीहरूलाई अनुबन्ध गर्दै फुटबललाई अगाडी बढाइरहेको छ।
प्रतिक्रिया