अक्टोबर १५ मा मेलबर्न सप्ताह गर्ने तयारी, नेपाली मन्दिरमा प्राण प्रतिष्ठा सम्पन्न

अक्टोबर १५ मा मेलबर्न सप्ताह गर्ने तयारी, नेपाली मन्दिरमा प्राण प्रतिष्ठा सम्पन्न


मेलबर्न अष्ट्रेलिया ।

आगामी महिना १५ अक्टोबरमा मेलबर्न सप्ताह–२ हुने भएको छ। भिक्टोरियाको डिगर्स रेस्टस्थित नेपाली सामुदायिक केन्द्रमा अक्टोबर १५ देखि २४ (घटस्थापना देखि विजया दशमीसम्म)सम्म श्रीमद्धभागवत सप्ताह ज्ञान महायज्ञ हुन लागेको हो। सप्ताहको प्रमुख वाचक पण्डित् दिनबन्धु पोख्रेल रहेका छन्। पण्डित् पोख्रेललाई बाल ब्यास श्रावण गुरुले साथ दिनेछन् भने सन्तोष गर्ग क्षेत्रीले भजन कीर्तन गर्नेछन्। 

यसैबीच यो साता शनिबार र आइतबार मेलबर्नमा निर्माणाधीन बहु सांस्कृतिक केन्द्रमा ल्याइएका पशुपतिनाथ, दुर्गा र गणेश भगवानका मूर्तिमा प्राण प्रतिष्ठा सम्पन्न भएको छ । 

भदौ २३ गते कलश यात्राबाट सुरु भएको प्राण प्रतिष्ठा भदौ २७ गते औपचारिक कार्यक्रम, मूर्तिको औपचारिक उद्घाटन र आरती गरी समापन भएको एएनएमसीका सचिव तिलक पोखरेलले जानकारी दिए। तीन दिनसम्म चलेको उक्त कार्यक्रममा २ हजारभन्दा बढी भक्तजनहरूको सहभागिता रहेको थियो।

उनले यो कार्यक्रम भिक्टोरियाका नेपाली समुदायका लागि ठुलो सफलता भएको भन्दै सहभागिता र सहयोगका लागि सम्पूर्ण अतिथि, स्वयंसेवक, दाता, मिडिया पार्टनर, समुदायका अगुवा तथा सदस्यहरूलाई धन्यवाद दिएका छन्। 

शंकर गौतम, सूर्यप्रसाद दाहाल, नारायणप्रसाद ज्ञवाली, नारायण दाहाल र विमल आचार्य गरी पाँच जना गूरुहरुले हवन पुजा पाठ गरेका थिए। अनुष्ठानको अन्तिम दिन गुरु रामप्रसाद रिजाल पनि सहभागी भएका थिए। 

भक्तालुजनहरुले भजन कीर्तनका गर्दै हरिनाम जपेका थिए। प्राण प्रतिष्ठाको अन्तिम दिन भक्तजनहरूलाई भण्डारा (प्रसाद) वितरण गरिएको थियो

बहु सांस्कृतिक केन्द्रमा त्रिशूल गजुरको रूपमा स्थापना गरिएको छ। प्राण प्रतिष्ठा तथा मूर्ति स्थापना कार्यक्रमका कर्ताहरूलाई एएनएमसीले सम्मान पनि गरेको उनले बताए।

एक सय १९ रोपनी क्षेत्रफलमा स्थापना गरिएको बहु सांस्कृतिक केन्द्रका लागि भिक्टोरिया सरकारको तर्फबाट प्राप्त भएको अनुदान प्रयोग गरी उक्त क्षेत्रको मर्मत कार्य गरिएको थियो। विभिन्न धार्मिक अनुष्ठानहरू सम्पन्न गर्ने गरी मन्दिर र बौद्ध गुम्बाका रूपमा बहु सांस्कृतिक केन्द्रलाई विकास गरिएको छ।