फेन्काको अध्यक्षमा बोम योञ्जन निर्वाचित, सचिव कपिल पाण्डे

फेन्काको अध्यक्षमा बोम योञ्जन निर्वाचित, सचिव कपिल पाण्डे


मेलबर्न, अष्ट्रेलिया । फेडेरसन अफ नेप्लिज कम्युनिटी एशोसियसन्स अफ अष्ट्रेलिया (फेन्का) को अध्यक्षमा बोम योञ्जन निर्वाचित भएका छन्। गत अगष्ट २६ तारिख सिड्नीको रकडेल स्थित एभरेष्ट तन्दुरी फंक्सन सेन्टरमा भएको चौँथो साधारण सभाले योञ्जनलाई अध्यक्षमा चयन गरेको हो।

उक्त साधारण सभाले उपाध्यक्षमा डा. मधु पुडासैनी, सचिव कपिल पाण्डे, कोषाध्यक्ष राजन कोईराला, प्रवक्ता भोला गिरी, सहसचिव डा। प्रकाश पौडल, सह कोषाध्यक्ष डा। बिनोद दाहाल, सह प्रवक्ता जीवन राना, न्यू साउथ वेल्स राज्य संयोजक विष्णु हमाल, भिक्टोरिया राज्य संयोजक दिक्पाल देव पंगेनी, साउथ अस्ट्रेलिया संयोजक शुरेन रेग्मी, वेस्टर्न अस्ट्रेलिया राज्य संयोजक योगेन्द्र थापा, क्यानबेरा राज्य संयोजक सुरेश पौडेललाई चयन गरेको छ।

संयोजक चयन नभएका बाँकी राज्यमा पनि संयोजकहरु मनोनित गरिने उक्त कार्यक्रममा जानकारी गराइएको छ।

अस्ट्रेलियामा भएका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको भौतिक र अनलाईन दुबै माध्यमबाट उपस्थिति रहेको कार्यक्रम बन्द सत्र र खुल्ला सत्र गरी दुई चरणमा संचालन गरिएको थियो।

अस्ट्रेलियाका लागि नेपाली राजदुत कैलाशराज पोखरेल प्रमुख अतिथि रहेको कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, न्यू साउथ वेल्स राज्यका तल्लो सदनका सदस्य तथा छाया बहुसांस्कृतिक मन्त्री मार्क कुरे, सांसद राइड सदस्य स्वास्थ्य तथा बहुसांस्कृतिक छाया मन्त्री जोर्डन लेन, लिबरल पार्टी विधायक परिषद सदस्य ज्याकी मुनरो लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा रोयल वेस्टर्न क्लव भिक्टोरिया, नेप्लीज अस्ट्रेलियन एशोसियसन न्यू साउथ वेल्स, नेपाली पाठशाला एडिलेड, नेप्लीज अस्ट्रेलियन एशोसियन अफ कुईन्सल्याण्ड, नेप्लीज नेभरहुड कम्युनिटी ईन कर्पोरेटेट भिक्टोरिया, पशुपतिनाथ बौद्ध टेम्पल अफ वेस्टर्न अस्ट्रेलिया, अस्ट्रेलिया नेपाल फ्रेण्डसिप सोसाईटी क्यानबेरा, नेप्लिज रिक्रियसन क्लव न्यू साउथ वेल्स, नेपाली समाज भिक्टोरिया, नेप्लीज टेनिस क्लव, नेपाल एशोसियन वेस्टर्न अस्ट्रेलिया, क्यानवेरा नेप्लीज कम्युनिटी लगायतका संघ संस्थाबाट प्रतिनिधिहरु सहभागी भएका थिए।

साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष डा. कृष्ण हमालले गएको २ वर्षमा भएका विविध गतिविधिको जानकारी गराएका थिए। नेपाली संघसंस्थाको संघीय स्वरुपका रुपमा फेन्काले नीति निर्माण तहमा काम गरिरहेको भन्दै उनले नागरिक समाजको पहलकै कारण नेपाल र अष्ट्रेलियाबीच उच्चस्तरीय भ्रमण सम्पन्न भएको र यो क्रम जारी रहँदा यसले समूदायलाई नै लाभान्वित बनाउने विचार उनले राखेका थिए । यस्तै अष्ट्रेलियाका विभिन्न राज्यहरुमा एभरेष्ट डेलाई नियमित रुपमा मनाउने परम्पराको निरन्तरताले हाम्रो पहिचानलाई नै थप मजबुत बनाउने उनको धारणा थियो।

कार्यक्रममा न्यूसाउथवेल्स संयोजक विष्णु हमालले उपस्थित अतिथिहरुलाई स्वागत गरेका थिए । अधिवेशनसले अघिल्लो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा डा. कृष्ण हमाल नेतृत्वको टिमलाई धन्यवाद प्रस्ताव पारित गरेको छ भने आगामी दिनमा अझै नेपाली भाषा, संस्कृतिको पहुँच अष्ट्रेलियाको मूलसमाजमा बढाउँदै लैजानका लागि क्रियाशील रहने प्रतिबद्धता पनि व्यक्त गरेको छ।