नेपालमा क्रिप्टो डिभाईस लाने को हुन् अष्ट्रेलियाका पोखरेल ?

नेपालमा क्रिप्टो डिभाईस लाने को हुन् अष्ट्रेलियाका पोखरेल ?


मेलबर्न, अष्ट्रेलिया ।

यतिबेला नेपालमा क्रिप्टोकरेन्सीमार्फत भइरहेको कमाईलाई अवैध तोक्दै यस विरुद्ध अभियान नै चलेको छ । प्रहरीले एकै परिवारका तीनजना सहित चार जनाको खातामा जब अश्वाभाविक रुपमा करोडौं रकम आएको देख्यो त्यसपछि सुरु गरिएको यो अनुसन्धानको क्रममा अर्को कडी जोडिन आइपुग्यो विमानस्थलमा । एक महिना अघि एक नेपाली नागरिकले अष्ट्रेलियाबाट मगाएको भन्दै हंगकंगबाट एउटा डिभाईस विमानस्थलको कार्गोमा आइपुग्यो । अहिले यो विषय निकै तातेको छ । क्रिप्टोकरेन्सीको कारोबार चीनमा भने प्रतिबन्धित अवस्थामा छ । तर, यसमा प्रयोग हुने डिभाईसहरु उसले नै बनाएर बेचिरहेको छ । विविसी नेपाली सेवाले पनि यस विषयमा राष्ट्र बैंकले किन कारवाहीको लागि चेतावनी दिनुको कारणसहित यो न्यूज लेखेको छ । हेर्न यहाँ क्लीक गर्नुस्

डिजिटल वालेट लेखिएको यो के हो ? शंकास्पद माने विमानस्थलका कर्मचारीहरुले । यसपछि सीआईबीलाई यसको अनुसन्धान गर्ने जिम्मा दिइएको थियो । सिआईवीले परीक्षणपछि यो क्रिप्टो करेन्सीमा कारोबार गर्दा भेरिफाई गर्ने सेक्युरिटी डिभाईस भएको पत्तो लगायो । यसमा पठाउने व्यक्तिको नाम नभएपनि उसको थर भने पोखरेल लेखिएको प्रहरीले जनाएको छ । पोखरेल थरका ति अष्ट्रेलियन नेपालीलाई प्रहरीले खोजिरहेको छ । यहाँ हेर्नुस्

अनलाईनखबरले यी डिभाईसहरुलाई नष्ट गर्न प्रहरीले अध्यागमनलाई भनेको समाचार लेखेको छ । यो हेर्नुस्

अष्ट्रेलियामा धेरै नेपालीले क्रिप्टोमा लगानी गरेका छन् । बिटक्वाईनसमेतको मालिक रहेका नेपाली व्यवसायीहरु प्रशस्तै भेटिन्छन् यहाँ । एउटा विटक्वाईनको मूल्य नै ५० हजार अष्ट्रेलियन डलरभन्दा बढी छ यतिबेला । तर, जतिखेर ८ वर्षअघि यो बजारमा आएको थियो सय पचास डलर खर्च गर्दा नै उनीहरुले यो किन्न सक्थे । त्यतिबेला हालेको सय पचास डलर अहिले हजारौं भएकोमा उनीहरु दंग छन् । तर पछिल्लो समय नेपाल राष्ट्र बैंकले यो कारोबारलाई नेपालमा अवैध मात्र ठहर गरेको छैन देशभित्र र देश बाहिर रहेका नेपालीहरुलाई पनि यसबाट टाढै बस्न भनेको छ । हुनतः नेपालमा गैरकानूनी मानिने तर विश्वका अन्य देशमा खुल्लम खुल्ला चलिरहेको नेटवर्किंग व्यवसायमा आपूmलाई किंग भन्ने नेपालीहरु पनि अष्ट्रेलियामा छन् । एसीएन लगायतका व्यवसाय नेपालमा अवैध मानिन्छ । तर, त्यसमा नै कारोबार गरेर लाखौं कमाएको भन्दै प्रिजेन्टेसन दिँदै हिंड्नेहरुको कमी छैन अष्ट्रेलियामा । एनआरएन अष्ट्रेलियाले आफ्नै व्यवसायिक समिटमा पनि क्रिप्टो करेन्सी र ब्लकचेनको बारेमा छुट्टै सेसन समेत राखेको थियो ।

अब यहाँ प्रश्न उठ्छ नेपालमा पुग्दा उनीहरु पक्राउ परे भने के हुन्छ ? कताको कानून आकर्षित हुन्छ ? अहिले नेपालमा पक्राउ परेका व्यक्तिहरुको सम्पत्ति जफत भएजस्तै यिनको पनि क्रिप्टोबाट भएको कमाई जफत हुन्छ त ?

प्रहरीले यो नियम नेपालीहरुलाई लागू हुने भनेको छ अर्थात् नेपाली नागरिकता वा पासपोर्टधारीहरुले भने सावधान हुनैपर्ने भएको छ । अन्यथा, यताको कमाई उताको गुमाई हुन बेर छैन । अझ सत्रु नै लागे भने त यसले क्रिप्टोको कारोबार गर्छ र नेपालमा पनि यसले व्यवसाय फैलाउन यहाँ आइरहेको छ भन्दिए भने त फसाद ।

दक्षिण एशियामै नेपाल अनलाईन र डिजिटल कारोबारमा निकै अघि बढिसकेको छ । नेपालबाटै पनि धेरै मानिसहरुले विदेशमा खाता खोलेर त्यसैमार्फत यस्ता कारोबारमा लगानी गर्ने र प्रतिफल कमाएर आनन्दसँग बस्ने गर्दै आएका छन् । कतिपय अवस्थामा त यसरी विदेशमा हुने कमाईलाई हुन्डीवालाहरुसँग मिलेर नेपालबाट विदेशमा पैसा पठाउन चाहनेहरुको माध्यम बनेर पनि उनीहरुले काम गरिरहेको पाइएको छ । यता डलरमा दिने उता नेपालीमा पैसा लिने । त्यो पैसा त्यहीँ लगानी गर्ने । यस्ता किस्सा खोज्दै जाने हो भने मैहुँ भन्ने व्यापारीहरु पनि मुछिने स्पष्ट छ । नभन्दै एक अमेरिकी नागरिकले नेपालबाट आफ्नो रकम लैजान क्रिप्टो खरिद गरेको पनि कान्तिपुरले समाचारमा खुलाइसकेको छ । हुन्डीको पैसा तिर्नका लागि पनि यसको प्रयोग भइरहेको यहाँ पढ्न सकिन्छ । यहाँ हेर्नुहोस्

यता क्रिप्टोमा लगानी गरेर त्यसैको प्रिजेन्टेसन दिँदै हिंड्नेहरु नेताको कोठाचोटामा पुगेर फोटो पोष्ट गरिरहेका छन् । हुन्डीवालाहरुले पनि आनन्दसँग नेपालमा घुमीवरी अष्ट्रेलिया फर्किने सफलता पाइसकेका छन् । यसैकारण नेपालमा जबसम्म केही हुँदैन तबसम्म केहीँ हुँदैन भन्ने हिसाबले कारवाही चल्ने भएका कारण अष्ट्रेलियामा बसेर नेपालले अवैध भनेको कारोबार गर्नेहरु ढुक्क देखिन्छन् । अझ उनीहरुले अष्ट्रेलियाको पासपोर्ट नै लिइसकेको अवस्थामा र अष्ट्रेलियामा क्रिप्टोको कारोबार वैध नै रहेको अवस्थामा त नेपाली कानूनले केही गर्नसक्ने अवस्था नै देखिँदैन ।

स्थिति यस्तो रहेपनि अष्ट्रेलियामा बस्ने नेपालीहरुलाई यतिबेला निकै चासो लागेको विषय चाहीँ हंगकंगबाट ३० वटा डिभाईस लगेर नेपालबाट हुने पेमेन्टलाई भेरिफाई गराउन खोज्ने पोखरेल थरका ति व्यक्ति चाहीँ को हुन् ? भन्ने रहेको छ ।