विश्व बिजेता बनेपछि जब कार्मोनालाई सुनाइयो बुवा बितेको खबर

विश्व बिजेता बनेपछि जब कार्मोनालाई सुनाइयो बुवा बितेको खबर


काठमाडौँ ।

स्पेनलाई विश्व बिजेता बनाउन निर्णायक गोल गरेकी कप्तान ओल्गा कार्मोनाले फाइनल खेलपछि मात्र बुवा वितेको खबर थाहा पाएकी छन्। अस्ट्रेलियामा आइतबार सम्पन्न फाइनल खेलमा इंग्ल्यान्डलाई १–० गोल अन्तरले पराजित गर्दै स्पेनले उपाधि जित्दा कप्तान कार्मोनाको एक मात्र गोल निर्णायक बनेको थियो।

अन्तराष्ट्रिय संचारमाध्याम रोयटर्सका अनुसार कार्मोनाका बुवा लामो समयदेखि बिरामी थिए र उनको शुक्रबार नै निधन भएको थियो। तर फाइनल खेलपछि मात्र स्पेनिस फुटबल एसोसियसनले २३ वर्षीया कार्मोनालाई बुवाको निधन भएको जानकारी गराएको थियो।

स्पेनिस क्लब रियल मड्रिडकी लेफ्ट–ब्याक कार्मोनाले खेल हुनुअगाडि आफूलाई बुवाको निधनबारे जानकारी नभएपनि आफूलाई जहाँ भएपछि हेरेको तथा आफूमाथि गर्व महसुस गरेको हुनुपर्ने सामाजिक सञ्जालमा लेखेकी छन्।

स्पेनिस संचारमाध्यम रेलेभोले जनाएअनुसार कार्मोनाका परिवार र साथीहरुले फाइनलअघि उनलाई यसबारे जानकारी नगराउने निर्णय लिएका थिए।