काठमाडौँ ।
युरोपेली राष्ट्र स्पेनले फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ। अस्ट्रेलियाको सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा भएको ९ औँ संस्करणको फाइनल खेलमा इंग्ल्यान्डलाई १–० गोलले हराउँदै स्पेनले महिला विश्वकपको उपाधिमा पहिलो पटक जितेको हो।
स्पेन विश्वकपको समूह चरणको खेलमा जापानसँग ४–० गोलले पराजित भए पनि उपाधि उचाल्न सफल भयो।
पहिलो पटक फाइनल पुगेको स्पेनलाई जित दिलाउन ओल्गा कार्मोनाले गोल गरेकी थिइन् । खेलको २९ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
स्पेनलाई ७०औँ मिनेटमा पेनाल्टीमार्फत् अग्रता दोब्बर गर्ने मौका मिले पनि जेनिफर हर्मोसोले गोल गर्न सकिनन्।
स्पेनले यो महिला विश्वकप फुटबलमा सर्वाधिक १८ गोल गर्न सफल भयो । उपविजेता बनेको इंग्ल्यान्डले १३ गोल गर्याे। सन् २०१० मा पुरुष विश्वकप जितेको स्पेनले महिला विश्वकप पनि जितेको छ। यसैसँग महिला र पुरुष विश्वकप जित्ने राष्ट्रमा जर्मनीपछि स्पेन थपिएको छ।
प्रतिक्रिया