माओवादी संसद् विरोधी पार्टी हो, कांग्रेस कम्युनिस्टको पुच्छर बनेको छ : सांसद सिंह

माओवादी संसद् विरोधी पार्टी हो, कांग्रेस कम्युनिस्टको पुच्छर बनेको छ : सांसद सिंह


काठमाडौँ ।

प्रतिनिधि सभा सांसद अमरेशकुमार सिंहले सरकार जनताप्रति उत्तरदायी नबन्नका लागि समिति नेतृत्व चयन नगरेको आरोप लगाएका छन्।​​ बिहीबार सिंहदरबारमा सञ्चराकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले सरकारले समिति सभापति चयन गर्न नै नचाहेको आरोप लगाए। उनले ८ महिना भइसक्दा समेत समितिले नेतृत्व पाउन नसक्नुले सरकार उत्तरदायी नभएको पुष्टि हुने बताए। उनले सत्ता पक्ष र विपक्षको लडाईंका कारण लोकतन्त्र रहन्छ कि रहँदैन भन्ने शंका उब्जिएको बताए।

सांसद सिंहले अहिले सत्तापक्ष र प्रमुख प्रतिपक्ष मिलेर संसदलाई बन्धक बनाएको आरोप लगाए। अहिले सरकारमा पनि कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्षमा पनि कम्युनिष्ट पार्टी भएको भन्दै कम्युनिष्टहरूले संसदीय व्यवस्थामा विश्वास नगर्ने बताए। उनले कांग्रेस अहिले कम्युनिष्टहरूको पुच्छर भएको टिप्पणी गरे। उनले नेकपा (माओवादी केन्द्र) सुरुदेखि नै संसद् विरोधी पार्टी भएको र स्वार्थका लागि सत्ताको प्रयोग गरिरहेको पुष्टि भइरहेको बताए।

सांसद सिंहले कम्युनिष्टहरूलाई संसदीय व्यवस्थामा विश्वास नै नरहेको जिकिर गरे।