एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा, को–को परे टिममा

एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा, को–को परे टिममा


काठमाडौँ ।

नेपाल क्रिकेट संघ (क्यान ले एसिया कप क्रिकेट प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको छ। आगामी भदौ १३ देखि ३१ गतेसम्म पाकिस्तान र श्रीलङ्कामा आयोजना हुने उक्त प्रतियोगिताका लागि क्यानले सोमबार नेपाली टोलीको घोषणा गरेको हो।

छनोट हुने नेपाली टोलीमा कप्तान पौडेलसहित आशिफ शेख, कुशल भुर्तेल ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी र प्रतिश जिसी रहेका छन्।

त्यसैगरी किशोर महत्तो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल छानिएका छन्। पहिलो पटक एसिया कपमा सहभागिता जनाउन लागेको नेपाल समूह ‘ए’ मा रहेको छ। नेपालको समूहमा भारत र पाकिस्तान छन्। त्यस्तै समूह बीमा श्रीलङ्का बङ्गलादेश र अफगानिस्तान रहेका छन् । नेपालले आफ्नो समूहको पहिलो खेल पाकिस्तानमा खेल्नेछ भने दोस्रो खेल श्रीलङ्कामा खेल्नेछ।

नेपालले र पाकिस्तानबीचको पहिलो खेल आगामी भदौ १४ गते हुनेछ। त्यस्तै नेपालले आफ्नो दोस्रो खेल भारतसँग खेल्नेछ। नेपाल र भारत बीचको खेल भने श्रीलङ्कामा हुनेछ। उक्त खेल भदौ १८ गते हुनेछ।