काठमाडौँ ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल आज स्वदेश फर्कँदै छन्। भदौ १ गतेसम्मका लागि विदेशका कार्यक्रममा सहभागी हुन गएका अध्यक्ष नेपाल भ्रमण छोट्याएर आज स्वदेश फर्कन लागेका हुन्।
एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधारका अनुसार अध्यक्ष नेपाल आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा आइपुग्ने छन्। एक साताअघि युरोपमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनका लागि गएका अध्यक्ष नेपाल ललिता निवास प्रकरणमा छानबिनको दायरामा परेपछि अचानक स्वदेश फर्कने निर्णयमा पुगेका हुन्।
पूर्व निर्धारित कार्यक्रम अनुसार गत साउन २२ गते युरोप गएपनि त्यसको एक दिन अघि सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री नेपाल र बाबुराम भट्टराईलाई पनि छानबिन गर्ने बाटो खोलिदिएको थियो। सर्वोच्च अदालतले आदेश दिएको भोलिपल्ट विदेश गए पछि धेरैले ‘फरार’ भएको भन्दै आलोचना गरेपछि अध्यक्ष नेपालले त्यसको प्रतिवाद गर्दै आएका थिए।
युरोपबाटै उनले आफू निर्दोष भएको जनाउँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)लाई अनुसन्धानमा सहयोग गर्ने जनाउँदै आएका छन्। गत साउन २१ गते अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुमाथि अनुसन्धान गर्न आदेश जारी गरेको थियो।
प्रतिक्रिया