एनआरएनए महासचिवमा बुद्धिसागर सुवेदीको उम्मेदवारी घोषणा

एनआरएनए महासचिवमा बुद्धिसागर सुवेदीको उम्मेदवारी घोषणा


काठमाडौँ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदीले एनआरएनए आइसीसीको महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

शनिबार जूम मार्फत आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सुवेदीले आगामी २०२३–२५ कार्यकालको लागि आइसीसीको महासचिव पदमा उम्मेदवारी दिने बताएका हुन्।

एनसीसी (राष्ट्रिय समन्वय परिषद) हरुलाई बलियो बनाउन, केन्द्रीय कार्यालयलाई व्यवस्थित र प्रविधि मैत्री बनाउन तथा एनआरएन नागरिकताको कार्यान्वयनजस्ता मुद्दालाई अगाडी बढाउनका लागि आफुले उम्मेदवारी घोषणा गरेको उनले बताए।

महत्वाकांक्षी भएर नभई दुई वर्षे कार्यकालमा एनसीसी अमेरिकामा आफुले गरेको कामको आधारमा साथीहरुको सल्लाह अनुसार महासचिव पदमा उम्मेदवारी दिएको उनको भनाइ छ। संस्थालाई बलियो बनाउन आफुले इमान्दारीपूर्वक काम गर्ने उनले बताए।

उनले काठमाडौँमा हुन गइरहेको ११ औं विश्व अधिवेशनलाई एकताको अधिवेशन बनाउन पनि आग्रह गरे। संसारभरि रहेका गैर आवासीय नेपालीहरुको सीप, पूँजी, अनुभव र नेटवर्क नेपाल र नेपालीको उन्नतिका लागि परिचालन गर्न, दोश्रो पुस्ताका नेपालीहरुलाई एनआरएन संजालसंग जोड्न र नेपालमा लगानी तथा पर्यटन प्रवर्धन गर्न आफ्नो उम्मेदवारी रहेको उनले बताए।