मेलबर्न अष्ट्रेलिया ।
फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अष्ट्रेलिया महिला विश्वकप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार भएको खेलमा अष्ट्रेलियाले फ्रान्सलाई ७–६ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा पक्का गरेको हो।
अष्ट्रेलिया विश्वकपको सेमिफाइनलमा पुगेको यो पहिलो अवसर हो।
१२० मिनेटसम्म पनि स्कोर गोलविहीन बनेपछि खेल पेनाल्टीमा पुगेको थियो। रोमाञ्चक बनेको पेनाल्टीमा अष्ट्रेलिया अन्ततः ७–६ गोलअन्तरले विजयी बनेको थियो।
फ्रान्सका लागि विकी बेचोको प्रहार पोस्टमा लागेपछि कोर्टनी भाइनले गोल गर्दै अस्ट्रेलियालाई ऐतिहासिक जीत दिलाएकी थिइन्। अष्ट्रेलियाकी गोलकिपर म्याकेन्जी अर्नोल्डले पेनाल्टी सुटआउटमा चारवटा प्रहार बचाउ गरेकी थिइन्।
सेमिफाइनलमा अष्ट्रेलियाले इङ्गल्यान्ड र कोलम्बियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यसअघि स्पेन र स्विडेन सेमिफाइनलमा पुगिसकेका छन्।
प्रतिक्रिया