काठमाडौँ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा हुने तेस्रो ज्ञान सम्मेलन काठमाडौँमा हुने भएको छ। सामाजिक अर्थतन्त्र विकासका लागि वैज्ञानिक अन्वेषक र लगानी भन्ने मूल नारा रहेको विश्व ज्ञान सम्मेलन अक्टोबर १७ र १८ तारिख काठमाडौँमा हुन लागेको हो।
विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सिप र बौद्धिकतालाई नेपालको दिगो विकासमा प्रयोग गर्ने उद्देश्यका साथ एनआरएनएले तेस्रो विश्व ज्ञान सम्मेलन काठमाडौँमा गर्ने निर्णय गरेको संघले जनाएको छ।
नेपाली, डायस्पोरा र अन्तर्राष्ट्रिय जगतमा ख्याति प्राप्त विज्ञहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्यले विश्व ज्ञान सम्मेलनको आयोजना गर्न लागिएको संघले जारी गरेका विज्ञप्तिमा भनिएको छ। विगतका वर्षहरू जस्तै यस वर्ष पनि नेपाल सरकारसहित नेपालका शैक्षिक तथा अनुसन्धानात्मक संस्था, निजी तथा सरकारी, गैरसरकारी संस्था लगायतका अन्य सरोकारवाला उपस्थितिमा सम्मेलन आयोजना गरेको संघको भनाइ छ।
सम्मेलनमा अर्थ, विज्ञान, पूर्वाधार, कृर्षी र ऊर्जासहित चार वटा प्लेनरी सेसनसहित ११ विभिन्न विधामा गैर आवासीय नेपाली विज्ञ, नेपालमा रहेका विज्ञ र नेपालसँग जोडिएका विदेशी विज्ञले कार्यपत्र प्रस्तुत गर्ने संघले जनाएको छ।
सम्मेलनले विधमान सरकारी नीतिहरू, शिक्षा विज्ञान र प्रविधि विकासमा लगानी र यसको अनुसन्धान लगायतका विषयमा पनि जोड दिने विज्ञप्तिमा उल्लेख छ। सम्मेलनको आयोजनाको लागि विभिन्न विशेषज्ञ सम्मिलित समितिहरु गठन गरिएको पनि संघले जनाएको छ।
प्रतिक्रिया