काँग्रेस सांसद शर्मालाई पक्राउ गरेकोप्रति एमालेको आपत्ति

काँग्रेस सांसद शर्मालाई पक्राउ गरेकोप्रति एमालेको आपत्ति


काठमाडौँ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कांग्रेस सांसद सुनिल शर्मालाई पक्राउ गरेकोप्रति एमालेले बिरोध जनाएको छ। शुक्रबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद ज्वालाकुमारी साहले सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि शर्माले उच्च स्तरीय छानबिनको माग गरेकै कारण पक्राउ गरिएको बताएकी हुन्।

उनले भनिन्, ‘सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि सुरुदेखि उच्च स्तरीय छानबिन समितिको माग गरिरहेका कांग्रेसका माननीय सुनिल शर्मालाई पक्राउ गरियो। आज उनलाई कुन हिसाबबाट समातिएको छ ? त्यो कानुनले पनि मिल्दैन। उहिले नै सकिएको प्रमाण पत्रको म्याद झिकेर अहिले बखेडा खडा गरेर उनलाई समातियो।’

शर्माले नक्कली शैक्षिक प्रमाणपत्र बुझाएको आरोपमा सीआईबीले बिहीबार शर्मालाई पक्राउ गरेको थियो।

एमालेको अवरोधका कारण शुक्रबारको प्रतिनिधिसभाको बैठक पनि स्थगित भएको छ। सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठनको मागसहित एमालेले प्रतिनिधिसभा बैठक स्थगित भएको हो।

बैठक सुरु भएपछि सभामुख देवराज घिमिरेले एमाले सांसद साहलाई बोल्न दिएका थिए। सत्तापक्षका सांसदले बोल्ने समय माग्दै उठेर अवरोध गरेका थिए। साहले बोलेलगत्तै एमाले सांसदहरु नाराबाजीसहित रोस्टमअगाडि उभिए थिए। त्यसपछि घिमिरले सांसदहरुलाई बस्न आग्रह गरेका थिए। तर, एमालेका सांसदहरुले आफ्नो अडान नछाडेपछि सभामुख घिमिरेले कार्यसूचीका सबै विषय हटाएर सोमबारसम्मका लागि बैठक स्थगित गरेको जानकारी दिए।

एमालेले सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समितिको माग गर्दै दुई सातादेखि संघीय सदनअन्तर्गतका दुवै सदन अवरुद्ध पार्दै आएको छ।