एमालेका कारण आज पनि प्रतिनिधिसभा बैठक स्थगित

एमालेका कारण आज पनि प्रतिनिधिसभा बैठक स्थगित


काठमाडौँ ।

सुन तस्करी प्रकरणमा उच्च स्तरीय समिति गठन गर्नुपर्ने अडान नेकपा एमालेले राखेपछि प्रतिनिधिसभाको बुधबारको बैठक पनि स्थगित भएको छ। बुधबार बैठक सुरुभएपछि एमालेका सांसदले उठेर विरोध जनाएका थिए।

एमाले सांसद सूर्य थापाले सत्तापक्षले सुन प्रकरणमा छानबिन गर्न कुनै मनसाय नदेखाएका कारण अवरोध निरन्तर रहने भन्दै नाराबाजी गर्दै एमाले सांसद उठेर अगाडि आएका थिए।

एमाले सुन तस्करी प्रकरणमा उच्च स्तरीय समिति गठन नभएसम्म प्रतिनिधिसभा चल्न नदिने निर्णय गरेको थियो। जसका कारण प्रतिनिधिसभा र राष्ट्रिय सभा लगातार स्थागित भइरहेको थियो। मंगलबार गृहमन्त्रीलाई जवाफ दिन एमाले सहमत भएपछि बैठक केहीबेर सञ्चालन भएको थियो।

तर गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको र उच्च स्तरीय छानबिन समिति गठन नगरेको भन्दै विरोध जनाएपछि बैठक स्थगित भएको थियो। प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार १ बजे बस्नेगरी स्थगित भएको छ।