काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले निर्धारित मिति र समयमै संसद चल्नुपर्ने बताएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले निर्धारित समय र मितिमै संसद बैठक बस्ने घण्टी बज्नुपर्ने भन्दै तीन दलका शीर्षनेताको बन्धक संसद हुन नसक्ने बताए।
तीन दलको बार्गेनिङले संसदलाई बन्धक बनाइएको भन्दै उनले यस्तो परिपाटीको अन्त्य हुनुपर्ने माग गरे।
सभापति रवि लामिछानेले बाटोमा समातिएको सुन मालिकसम्म किन पुग्न नदिएको भनि प्रश्न गरेका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा सुन तस्करी प्रकरणको विषयमा बोल्दै लामिछानेले यस्तो प्रश्न गरेका हुन्।
‘गृहमन्त्री ज्यूलाई मेरो प्रश्न छ– बाटोमा समातिएको सुन मालिकसम्म किन पुग्न नदिइएको ?’ उनले भने, ‘म आशा गर्दछु । गृहमन्त्रीले चित्तबुझ्दो जवाफ दिनुहुनेछ। तीन दिनपछि त्यो कम्पनीमा छापा मारियो। जुन ब्रेक सु ल्याउने कम्पनी थियो। तीन दिनसम्म किन त्यो कम्पनीसम्म नपुगिएको होला ? जहाँ तीन दिनपछि पुग्दा ब्रेक सु नभएको डब्बाहरू भेटियो। त्यो समय किन दिइएको होला ?’
उनले अगाडि थप प्रश्न गरे, ‘२० दिनसम्म राजश्व अनुसन्धानको छानबिनमा पर्यो। जब दबाब बढ्दै गयो अहिले सिआइबीमा गएको छ। यो २० दिनमा यो अनुसन्धानलाई प्रभावित हुनेखालका कयौँ क्रियाकलापहरू भए होलान् ? कयौँ मान्छे विदेश भाग्ने काम भए। प्रमाण लुकाउने काम भए। यी कामहरूको जवाफ कसले दिन्छ ?’
प्रतिक्रिया