क्विन्सल्याण्ड नेपाली सांस्कृतिक केन्द्रका लागि तीन महिनामा उठ्यो साढे ४ लाख बढी

क्विन्सल्याण्ड नेपाली सांस्कृतिक केन्द्रका लागि तीन महिनामा उठ्यो साढे ४ लाख बढी


ब्रिस्वेन अष्ट्रेलिया ।

क्विन्सल्याण्ड नेपाली सांस्कृतिक केन्द्र (क्वीएनसीसी) बनाउने कार्यले तीव्रता पाएको छ। लामो समयदेखि चलेको नेपाली सांस्कृतिक केन्द्र बनाउने अभियानले चाँडै पूर्णता पाउने विश्वास गरिएको छ। सन २००९ देखि अनौपचारिक रूपमा चलेको अभियानले क्वीन्सल्याण्डमा नेपाली सांस्कृतिक केन्द्र बन्नेमा यहाँका नेपालीहरूमा आशा पलाएको छ। 

सन २०१७ मा नेपाली सांस्कृतिक केन्द्र आधिकारिक रूपमा क्विन्सल्याण्डमा दर्ता भएको क्वीएनसीसीका अध्यक्ष केशव शर्माले बताए। अनुमानित २५ हजार क्वीन्सल्याण्डमा बसोबास गर्ने नेपाली समुदाय रहेको आंकलन गर्न सकिन्छ। यो हेर्दा अहिले सदस्यता लिनेको संख्या न्यून देखिन्छ। तर यहाँ बसोबास गर्ने सबै नेपालीवासी सांस्कृतिक केन्द्रमा अबद्ध हुनेमा हामी विश्वस्त छौँ अध्यक्ष शर्माले भने। नेपाली सांस्कृतिक केन्द्रको सदस्यता बनेमा चाँडै नै यस कार्यले पूर्णता पाउने उनले बताए। क्वीन्सल्याण्डवासी नेपालीको साथ सहयोगले सुरु गरेको यो अभियानको विश्वास टुट्न नदिन उनले आग्रह गरेका छन्। 

क्विन्सल्याण्ड नेपाली सांस्कृतिक केन्द्रका अध्यक्ष केशव शर्मा

१२ मार्च २०२३ क्वीएनसीसीको कार्यसमितिको बैठकले यस कार्यलाई तीव्रताका साथ अगाडी बढाउनेमा निर्णय गरेको थियो। आवश्यक रकम संकलन र सदस्यता बढाउनका लागि अभिमानसिंह बस्नेतको संयोजकत्वमा राजन कोइराला, र देवकला श्री सदस्य रहेको उप समिति गठन गरिएको थियो। 

आर्थिक संकलन तथा सदस्यता वृद्धि उपसमितिका संयोजक अभिमानसिंह बस्नेत

आर्थिक तथा सदस्यता वृद्धि गर्ने उद्देश्यले गठन गरिएको उप समितिले चार महिनाको अवधिमा साढे चार लाखभन्दा बढी अष्ट्रेलियन डलर संकलन गरेको समितिका संयोजक अभिमानसिंह बस्नेतले जानकारी दिए। समितिको रात दिनको मेहनतले छोटो समयमा यती धेरै रकम संकलन गर्न सफल भएको र अझै ५५ जना सदस्ता लिनको लागि पाइपलाईनमा रहेको बस्नेतले केबीसीलाई जानकारी दिए। क्विन्सल्याण्ड नेपाली सांस्कृतिक केन्द्रका लागि लोगन सिटी काउनसिलमा जग्गा खरिद गर्ने प्रक्रिया अघी बढेको जानकारी दिए। कुल १५ लाख अष्ट्रेलियन डलर मूल्य पर्ने जग्गा खरिदका लागि सम्झौता गरिसकेको उनको भनाइ छ।

क्विन्सल्याण्ड नेपाली सांस्कृतिक केन्द्र बन्ने लोगन सिटी काउनसिलमा रहेको प्रस्तावित जग्गा

क्रवीन्सल्याण्डका नेपालीवासीले अहिले नेपाली सांस्कृतिक केन्द्र बनाउने कार्यलाई एकदमै साथ दिएको उनको भनाइ छ। अहिले स्व:स्फुर्त रूपमा नेपाली सांस्कृतिक केन्द्रको सदस्यता बन्ने दिन प्रतिदिन बढ्दै गएको उनले बताए। यस्तै अवस्था रह्यो भने यो कार्यले केही दिनमै पूर्णता पाउनेमा आफू आसावादी रहेको उनले बताए। 

उनले भने,  नेपाली सांस्कृतिक केन्द्र सदस्यताका लागि अनलाइन फर्म भर्दा समस्या आएमा जति बेला पनि सम्पर्क गर्न सक्नुहुने छ। 

यस्तो बन्ने छ नेपाली सांस्कृतिक केन्द्र

क्वीन्सल्याण्ड नेपाली सांस्कृतिक केन्द्रका कोषाध्यक्ष सरोज क्षेत्रीले अहिले सम्म ३३९ जनाले सदस्यता लिएको र ८ लाख ५५ हजार ४६८ अष्ट्रेलियन डलर जम्मा भएको बताए। सांस्कृतिक केन्द्रको सदस्यता शुल्क एकल सदस्यको लागी १००० डलर र परिवारको लागि १५०० डलर रहेको उनले जानकारी दिए।

क्वीन्सल्याण्डमा रहेका नेपाली समुदायका अगुवाहरूले नेपाली सांस्कृतिक केन्द्र चाँडै नै बन्नु पर्नेमा जोड दिएका छन्। उनीहरूले नेपाली सांस्कृतिक केन्द्र एक आस्थाको केन्द्र भएकाले टाढा नजिकको कुरा गौड रहेको बताए। यस्ता धार्मिक कार्यहरूले यहाँ रहेका नेपालीहरूलाई एकै ठाउँमा जोड्ने कडीको रूपमा काम गर्ने र हुर्किँदै गरेको दोस्रो पुस्तालाई हाम्रो धार्मिक तथा कला सस्कृतीको बारेमा जान्ने अवसर पाउने उनीहरूको भनाइ छ।