कोशीका मुख्यमन्त्री थापाको सपथ आज

कोशीका मुख्यमन्त्री थापाको सपथ आज


काठमाडौँ ।

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज विहान पद तथा गोपनीयताको सपथ लिने तयारी गरेका छन्। प्रदेश प्रमुखको कार्यालयका अनुसार आज बिहान साढे १० बजे सपथको समय तोकिएको जनाइएको छ।

थापालाई प्रदेश प्रमुख परशुराम खापुङ्गले मंगलबार कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ती गरेका थिए। सभामुख बाबुराम गौतमले राजीनामा गरेपछि गठबन्धन दलभित्रको माओवादी केन्द्रको सांसद संख्या १३ पुग्दा ९३ सदस्यीय प्रदेश सभाको बहुमत संख्या ४७ पुर्‍याएर थापाले दाबी पेश गरेका थिए।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनी कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन्। थापाले पहिलो चरणमा गठबन्धन दलहरूमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट एक एकजना मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।

गठबन्धनमा नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादीको १ सिट रहेको छ।