स्थानीय तहको चुनावबारे सत्ता गठबन्धनले विज्ञसँग छलफल गर्ने

स्थानीय तहको चुनावबारे सत्ता गठबन्धनले विज्ञसँग छलफल गर्ने


काठमाडौं ७ माघ । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनबारे कानुन विज्ञसँग छलफल गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकले स्थानीय तह निर्वाचनबारे देखिएको कानुनी अस्पष्टताबारे संविधान र कानुनका विज्ञहरुसँग छलफल गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भनिन्– ’संविधानमा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिएको ६ महिनाभित्र अर्को निर्वाचन गर्ने भन्ने छ तर निर्वाचन ऐनमा भने कार्यकाल सकिनु २ महिनाअगावै निर्वाचन गरिसक्नु पर्ने उल्लेख छ । कुन कुरालाई मान्ने भन्ने विषयमा संविधान र कानुनका विज्ञसँग छलफल गर्ने बैठकमा निर्णय भयो ।’ उपाध्यक्ष पौडेलका अनुसार विज्ञहरुसँगको छलफल दुई दिनभित्रै हुनेछ ।
कानुनभन्दा संविधान ठूलो हो, त्यसलाई नै मान्नुपर्छ भन्ने बैठकमा कुरा उठेकोले ऐनको व्यवस्थालाई के गर्ने भन्ने विषयमा विज्ञहरुको राय लिने सहमति भएको उपाध्यक्ष पौडेलले बताइन् ।