रास्वपाका कारण सरकारलाई भ्रष्टाचारका पुराना फाइल खोल्ने प्रेरणा मिल्यो : रवि लामिछाने

रास्वपाका कारण सरकारलाई भ्रष्टाचारका पुराना फाइल खोल्ने प्रेरणा मिल्यो : रवि लामिछाने


काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपाको भ्रष्टाचार विरोधी अभियानका कारण सरकारलाई भ्रष्टाचारका पुराना फाइल खोल्न प्रेरणा मिलेको बताएका छन्।

सोमबार काठमाडौंमा रास्वपा सुदुरपश्चिम–काठमाडौं सम्पर्क भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले भ्रष्टाचारकोविरुद्ध आवाज उठाएर रास्वपा अगाडि आएकै कारण सरकारलाई पुराना फाइल खोल्न प्रेरणा मिलेको बताएका हुन्।

सभापति लामिछानेले आजैबाट सरकारमा जाने दिन गन्ती पनि सुरु भएको बताए।

उनले भने ‘ हामी पनि दिन गनेर बसेका छौं। रास्वपा सरकारमा आउनेछ। रास्वपाले आफ्नो नीति लागु गर्ने छ। र हामी परदेश छोडेर घरदेशमा आउने छौं। आफ्नै प्यारो माटोमा जीवन बिताउने छन्। हामी त्यो दिनको प्रतीक्षा गर्ने छौं।

उनले रास्वपाको उपस्थितिले पनि सदनदेखि सरकार र विभिन्न राजनीतिक दलहरूमा चलायमान अवस्था देखिएको भन्दै यो राम्रो संकेत भएको दावी गरे। निर्वाचनमा जानु अगाडि रास्वपाले उठाएका मुद्दामा सरकारले साथ दिए आगामी निर्वाचनसम्म पार्टीका लागि पनि राम्रै हुने उनको भनाइ छ।

लामिछानले आगामी निर्वाचनसम्म धेरै काम गर्न बाँकी रहेकाले अहिलेदेखि नै ८४ को मिसनमा ध्यान केन्द्रीत गर्न आग्रह गरे। रास्वपाले अब जिल्ला दौडाहा पनि बढाउने भन्दै सबैसँग सम्बन्धित जिल्लाहरूमा भेट्ने बाचा पनि लामिछानेले व्यक्त गरे।