मेलबर्न, अष्ट्रेलिया ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको निर्वाचन भोलि शनिवार हुँदैछ। केन्द्रदेखि राज्य स्तरको नेतृत्वका लागि निर्वाचन हुन लागेको हो। केही राज्यहरूमा भने निर्वाचन अघि नै एक मात्र उम्मेदवारी परेका कारण कतिपय पदहरूमा सर्वसम्मत भइसकेको छ।
निर्वाचन पूर्ण रुपमा अनलाईन माध्यमबाट हुने र यसको तयारी पुरा भएको बिहीबार पत्रकार सम्मेलनमार्फत निर्वाचन समितिले जानकारी दिएको छ। एनआरएनए अष्ट्रेलियाका मतदातालाई ढुक्क भएर आफ्नो मतदानको अधिकार प्रयोग गर्न प्रमुख निर्वाचन आयुक्त टोनु घोतानेले अनुरोध गरेका छन्।
अष्ट्रेलियाको एनआरएनए निर्वाचनमा पहिलो पटक फेस भेरिफिकेसन प्रविधिमार्फत निर्वाचन गर्न लागेको उनले बताए। उनले मतदानका बेला केही समस्या आएमा राज्यस्तरको निर्वाचन समिति र हेल्प डेस्कमा भिडियो कल मार्फत सहयोग लिन सकिने जानकारी दिए।
उनले भने, भोटिङ योग्य सदस्यले एसएमएस र इमेल दुवैमा एक लिङ्क प्राप्त गर्नेछन्। प्राप्त लिङ्कलाई फर्वार्ड नगर्नुहोस् किनकि यसले प्राप्त गरेको बाहेक अन्य सदस्यहरूको लागि काम गर्दैन। मतदाताले एक पटक मात्रै मतदान गर्न पाउनेछन्। प्राप्त गरेको लिंक दुई पटक मात्र खोल्न सकिने पनि उनले जानकारी दिए। उक्त पत्रकार सम्मेलनमा उनले मतदान गर्ने तरिकाको बारेमा पनि बताएका छन्।
यस पटकको निर्वाचनमा राज्यस्तरमा तोकिएका निर्वाचन आयुक्तहरुलाई समेत फेस भेरिफिकेशनमा समस्या आए त्यसलाई निराकरण गर्ने अधिकार हुने छैन। उनीहरूले यस्तो समस्यालाई आईटी टिममा पठाउनेछन् र त्यहीँबाट यसको निक्र्यौल गरिने भएको छ। एनआरएनए अष्ट्रेलियाको अध्यक्षको लागि तीन उम्मेदवार चुनावी मैदानमा छन्। डिला खरेल, अनिल पोख्रेल र देव गुरुङ प्यानलसहित निर्वाचनमा होमिएका छन्। उनीहरु तीनै जनाले केन्द्रदेखि राज्यस्तरसम्म समूह बनाएर चुनाव लड्दैछन्।
१४ हजार बढी मतदाता भएको एनआरएनए अष्ट्रेलियाले भोली आफ्नो नयाँ नेतृत्व चुन्ने छ। चुनाव सकिएको दुई घण्टाभित्र निर्वाचनको नतिजा सार्वजनिक गर्ने प्रतिबद्धता पनि प्रमुख आयुक्त घोतानेले जनाएका छन्। अष्ट्रेलियाका सबै राज्यमा स्थानीय समय अनुसार बिहान नौ बजे देखी सुरु हुने मतदानको कार्यक्रम पाँच बजे समाप्त हुने छ।
कानूनमन्त्रीको आह्वान र नैतिक प्रश्न एनआरएन अष्ट्रेलियाले निर्वाचनका लागि प्रमुख निर्वाचन आयुक्त तोकेका टोनु घोतानेले बिहीबार जुममार्फत नेपाली काँग्रेसका उपाध्यक्ष एवं कानूनमन्त्री धनराज गुरुंगले डिला खरेललाई भोट दिन गरेको आह्वान कानूनी विषय नभएर नैतिकताको विषय भएको बताए।
केविसीखबरसँगको कुराकानीमा उनले यस विषयमा बिहीबार राति नै भएको निर्वाचन समितिको बैठकमा कुरा उठेको पनि जानकारी दिए। नेपालको सत्तारुढ राजनीतिक दलका उपाध्यक्ष एवं कानूनमन्त्रीले आफ्नो कार्यकर्ताहरुलाई उम्मेदवार डिला खरेललाई भोट हाल्न सार्वजनिक रुपमै आह्वान गरेका थिए।
स्वयं खरेलको सामाजिक सञ्जालमार्फत समेत सार्वजनिक गरिएको यो भिडियो अहिले भने हटाइएको छ। अहिले नेपालको राजनीतिक दलले प्रत्यक्ष अष्ट्रेलियाको एनआरएन चुनावमा हस्तक्षेप गरेको भन्दै विवाद बढेको छ । सामाजिक सञ्जालमा यसको झल्को देख्न सकिन्छ।
प्रतिक्रिया