भारतलाई हराउँदै पाकिस्तानले जित्यो एसीसी इमर्जिङ कपको उपाधि

भारतलाई हराउँदै पाकिस्तानले जित्यो एसीसी इमर्जिङ कपको उपाधि


काठमाडौँ ।

श्रीलंकामा सम्पन्न एसिसी इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तानले उचालेको छ। भारतको ‘ए’ टिमलाई १२८ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तानको ‘ए’ टिमले उपाधि जितेको हो। टस जितेर फिल्डिङ रोजेको भारतलाई पाकिस्तानले ८ विकेटको क्षतिमा ३५३ रन लक्ष्य सुम्पिएको थियो।

भारतले ४० ओभरमै अलआउट हुँदा २४० रनमा सिमित भयो। भारतका लागि ओपनर ब्याट्सम्यान अभिषेक शर्माले सर्वाािधक ६१ रन जोड्नेबाहेक अरु टिक्न सकेनन्। साइ सुदर्शन २९ रनमा आउट हुँदा कप्तान यश धुलले ३९ रनमै पेभिलियन फर्किनु परेको थियो। तयब तहिरले ७१ बलमा १२ चौका र ४ छक्कासहित पाकिस्तानका लागि आफ्नो उत्कृष्ट शतक दिए।

पाकिस्तानकै सुफियान मुकिमले ३, मेहरम मुम्ताज, अर्सद इकबाल र मोहमद वासिमले २–२ विकेट लिएर भारतलाई धारासायी बनाए। ओपनरद्वय सइम अयुवले ५९ र सहिबजाडा फरहानले ६५ रनको योगदान टिमलाई दिएका थिए। जितसँगै पाकिस्तानले समुह चरणको खेलमा भारतसँग हारको बदला पनि लिएको छ। सन् २०१९ मा बंगलादेशलाई पराजित गरेर च्याम्पियन बनेको पाकिस्तान २०१३ र २०१७ को उपविजेता थियो।

प्रतियोगीताको समूह ‘ए’ मा विजेता पाकिस्तानसहित भारत, नेपाल र युएई रहेका थिए। समुह चरणमा भने नेपाल भारत र पाकिस्तानसँग पराजित भएको थियो। नेपालले प्रतियोगिताको सान्त्वना जित युएईबाट निकालेको थियो।