अबको दुई महिनाभित्र आउने अन्तर्राष्ट्रिय विद्यार्थीलाई अष्ट्रेलियाले भिसा शुल्क फिर्ता गर्ने

अबको दुई महिनाभित्र आउने अन्तर्राष्ट्रिय विद्यार्थीलाई अष्ट्रेलियाले भिसा शुल्क फिर्ता गर्ने


मेलबर्न, अष्ट्रेलिया ।

कामदारको चरम अभाव भएपछि अष्ट्रेलियाले तत्कालै यहाँ आउन चाहने अन्तर्राष्ट्रिय विद्यार्थी र वर्क होलिडे भिसा अन्तर्गत आउने कामदारहरुलाई भिसा शुल्क फिर्ता गर्ने घोषणा गरको छ । आज प्रधानमन्त्री स्कट मोरिसनले आगामी आठ साताभित्र अष्ट्रेलिया प्रवेश गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई उनीहरुले तिरेको भिसा वापतको शुल्क फिर्ता गर्ने घोषणा गरेका हुन् । विद्यार्थीले भिसा शुल्क वापत करिब ६ सय डलर तिर्ने गरेका छन् ।

यस्तै वर्किंग होलिडे भिसा अन्तर्गत आउनेहरुलाई आगामी तीन महिनाभित्र अष्ट्रेलिया आएमा उनीहरुको पनि भिसा शुल्क फिर्ता गरिनेछ । यस नयाँ घोषणामार्फत करिब ५५ मिलियन डलर खर्च हुने अनुमान गरिएको छ । यो कार्यक्रम अष्ट्रेलियाभन्दा बाहिर रहेका १ लाख ५० हजार विद्यार्थीहरु र २३ हजार ५ सय व्याकप्याकर्सलाई लक्षित छ । प्रधानमन्त्री मोरिसनले यो रकम उनीहरुलाई अष्ट्रेलियामा फेरि आउँदा धन्यवादस्वरुप दिइएको बताएका छन् । उनले अष्ट्रेलिया आएपछि ति विद्यार्थीहरुले यहाँ कामदार अभाव भएका क्षेत्रहरुमा योगदान दिने अपेक्षा समेत गरे ।

अष्ट्रेलियाको मेलबर्नमा सञ्चालित मेट्स ईन्टरनेशनलका निर्देशक शंकर धरेलले यो नियमले विद्यार्थी भिसा रहेका र हाल अष्ट्रेलियामा नरहेका सबैलाई समेट्ने बताए । उनले नयाँ भिसा प्राप्त गर्नेहरुले पनि यो समयावधिभित्र अष्ट्रेलिया आएमा उनीहरुले पनि भिसा शुल्क फिर्ता पाउने जानकारी दिए ।

अष्ट्रेलिया अन्तर्राष्ट्रिय विद्यार्थीहरुको लागि आकर्षक त थियो नै अझ तत्कालै फिर्ता आउनका लागि यो निर्णयले थप एउटा कारण दिएको छ भन्नेमा दुईमत छैन । उनले भने ।

के हो वर्क होलिडे भिसा ?

अष्ट्रेलियाले विभिन्न देशहरुसँग वर्क होलिडे भिसाकार्यक्रमको सम्झौता गरेको छ । ति देशहरुमा अष्ट्रेलियाबाट काम गर्न जान सकिन्छ । यस्तै अष्ट्रेलियामा पनि कामका लागि आउन सकिन्छ । मुख्यत वर्क होलिडे अष्ट्रेलियामा घुम्न आउँदा काम समेत गर्न पाइने भिसा हो । यस अन्तर्गत मुख्यतः कृषि फार्महरुमा काम गर्नका लागि लक्षित छ ।

वर्क होलिडे भिसामा दुईवटा सबक्लास छन् । यदि अर्जेन्टिना, अष्ट्रिया, ईक्वेडर, चिली, चेक रिपब्लिक, ग्रिस, हंगेरी, ईन्डोनेसिया, ईजरेल, लक्जेम्बर्ग, मलेसिया, पेरु, पोल्याण्ड, पोर्चुगल, सान मारिनो, सिंगापुर, स्लोभाक रिपब्लिक, स्लोभानिया, स्पेन, थाईल्याण्ड, टर्की, उरुग्वे, अमेरिका तथा भियतनाम लगायतका देशले ४६२ भिसामा आवेदन दिनुपर्नेछ । यसको लागि ३० वर्षभन्दा कम उमेर हुनुपर्दछ ।

यस्तै वर्क होलिडे भिसा अनतर्गत नै रहेको ४१७ भिसा सबक्लास बेल्जियम, क्यानडा, साईप्रस, डेनमार्क, ईस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, हंगकंग, रिपब्लिक अफ आयरल्याण्ड, ईटाली, जपान, रिपब्लिक अफ कोरिया, माल्टा, नेदरल्याण्डस, नर्वे, स्वीडेन, ताईवान र बेलायतका नागरिकहरुले आवेदन दिन सक्नेछन् ।