भन्सार पासमा संलग्न सबै कर्मचारीलाई निलम्बन गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

भन्सार पासमा संलग्न सबै कर्मचारीलाई निलम्बन गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन


काठमाडौँ ।

भन्सारबाट तस्करीको सुन पास गराउने सबै कर्मचारीमाथि कारबाही गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले निर्देशन दिएका छन्।

प्रधानमन्त्री दाहालको ठाडो निर्देशनमा भन्सार विभागले जाँच पासमा संलग्न सबैमाथि कारबाहीको तयारी भइरहेको छ। विभागका महानिर्देशक शोभाकान्त पौडेलले जाँचपासमा संलग्न सबैकमाथि कारबाहीको तयारी भएको बताए। तत्काल निलम्बन गरेर उनीहरुमाथि छानबिन गरिने उनले जनाए। पौडेलले त्यति ठूलो परिमाणमा तस्करीको सुन कसरी जाँचपास भयो भन्नेबारे अनुसन्धान अघि बढाइएको उनको भनाइ थियो।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो।

विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जना पक्राउ गरेको थियो।

त्यसपछि आज बिहानसम्म थप चार जना पक्राउ गरिएको ढुङ्गानाले बताए। सुन हङकङबाट ल्याइएको खुलेको उनले बताए। नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो। ‘तथ्य खुल्न बाँकी छ। फरार व्यक्तिको खोजी भइरहेको छ’, उनले भने।