विमानस्थलबाट बरामद सुन जोख्न राष्ट्र बैंकमा लगिँदै

विमानस्थलबाट बरामद सुन जोख्न राष्ट्र बैंकमा लगिँदै


काठमाडौँ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट बुधबार बरामद गरिएको सुनको तौल यकिन गर्न नेपाल राष्ट्र बैंकमा लगिँदै छ। राष्ट्र बैंकमा लगेर जोखेपछि बरामद सुनको वास्तविक तौल थाहा हुने राजस्व अनुसन्धान विभागले जनाएको छ।

उक्त प्रकरणमा हालसम्म एजेन्टसहित ६ जनालाई पक्राउ परेका छन्।

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ। पक्राउ परेकाको पहिचान खुलाइएको छैन। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो।

विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जना पक्राउ गरेको थियो। त्यसपछि आज बिहानसम्म थप चार जना पक्राउ गरिएको ढुङ्गानाले बताए। सुन हङकङबाट ल्याइएको खुलेको उनले बताए। नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो।