प्रधानमन्त्रीले माफी मागेमात्र सदनको अवरोध हट्छ : प्रमुख सचेतक गिरी

प्रधानमन्त्रीले माफी मागेमात्र सदनको अवरोध हट्छ : प्रमुख सचेतक गिरी


काठमाडौँ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा दिनुपर्ने पार्टीको अडान कायमै रहेको बताएका छन्।

आइतबार अपरान्ह संघीय संसद भवन परिसरमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले प्रधानमन्त्रीले संसद बैठकमा माफी मागेमात्र सदन खुल्ने बताए।

प्रमुख सचेतक गिरीले प्रमुख तीन दलको बैठकबाट कुनै निष्कर्श निकास ननिस्केको दाबी गरेका छन्। प्रधानमन्त्री दाहालले मुलुकको स्वाभिमान, स्वाधिनता र सार्वभौमिकतालाई कमजोर पार्नेगरी अभिव्यक्ति दिएकाले उक्त विषय अहिले नटुङ्गिएको बताए।

नेपाल राष्ट्र र नेपाली जनताको शीर निहुँरिनेगरी गम्भीर प्रकृतिको गल्ती भएकाले प्रधानमन्त्रीले राजीनामा दिनैपर्ने पार्टीको अडान रहेको उनको भनाइ छ। प्रमुख सचेतक गिरीले विकसित देशमा त्यहाँका कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिले त्यस्तो अभिव्यक्ति दिएको भए तत्क्षण राजीनामा दिइसकेको हुने उनले दाबी गरे।

सार्वभौमसत्ता सम्पन्न जनप्रतिनिधिबाट निर्वाचित भएको प्रधानमन्त्रीले बाहिरबाट प्रधानमन्त्री बनेको अभिव्यक्ति दिनु गम्भीर त्रुटी भएको उनले बताए।