काठमाडौँ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा २ करोड रुपैयाँ ‘डिल’ भएको भनिएको अडियोमा कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिइएको स्वर हाल पुर्पक्षका लागि जेलमा रहेका दाङका सन्देश शर्मासँग मेल खाएको छ।
प्रारम्भिक परीक्षणमा अडियो रेकर्डमा सुनिएको स्वर जेलमा रहेका शर्मासँग मेल खाएको प्रहरी प्रवक्ता कुवेर कडायतले पुष्टि गरेका छन्। आइतबार उजुरी छानबिनको प्रगतिबारे जानकारी दिन प्रवक्ता कडायतले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
सामाजिक संजालमा आरजु र कांग्रेस नेता बालकृष्ण खाणकी पत्नी एवं सांसद मञ्जु खाणलाई दुई करोड रुपैयाँ बुझाएको भनी नाम लिएको अडियो छानबिनका लागि परेको उजुरीमाथि प्रहरीले ल्याब परीक्षणसहित छानबिन गरिरहेको छ।
अडियोको परीक्षणका क्रममा ‘कन्ट्रोल स्याम्पल’ ३४ वर्षीय शर्मासँग मेल खाएको प्रवक्ता कडायतले जानकारी दिए। साथै अडियोको उत्पत्ति (ओरिजिनेट) कहाँ र कसबाट भएको हो भन्ने सम्बन्मा टिकटक सिंगापुरलाई पत्राचार गरिसकेको समेत उनले बताए।
अडियो सार्वजनिक भएपछि मञ्जु सम्पर्कविहीन बनेपछि आरजुले अडियोमा सुनिने स्वरमाथि छानबिन गरी दोषीलाई कारवाहीका लागि अडियो क्लिपसहित गत बैशाख २ मा उजुरी दिएकी थिइन्।
प्रतिक्रिया