गायक रोविन तामाङको आज अन्त्येष्टि गरिँदै

गायक रोविन तामाङको आज अन्त्येष्टि गरिँदै


काठमाडौँ । गायक तथा कलाकार रोविन तामाङको आज अन्त्येष्टि गरिँदै छ। अन्तिम संस्कारको लागि बिजेश्वरीस्थित शोभा भगवतीमा लानु अघि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान सङ्गीत तथा नाट्य एकेडेमीको प्राङ्गण नक्सालमा राखिनेछ।

आज बिहान ८ बजेदेखि ११ बजेसम्मको लागि नक्सालस्थित एकेडेमीको प्राङ्गणमा श्रद्धाञ्जली अर्पणपछि उनको शव शोभा भगवती लगेर अन्तिम दाह संस्कार गरिनेछ ।

गायक रोविनको गत मंगलबार निधन भएको थियो। उनी बूढानीलकण्ठस्थित निवासमा मृत फेला परेका थिए।

गायक रविन तामाङले गाएका ‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठीकै छ’ जस्ता कयौं गीत युवापुस्तामाझ चर्चित छन्। फरक शैलीको गायन र प्रस्तुतिले धेरै रक संगीतप्रेमीबीच उनले अमिट छाप छोडेका छन्। गायक रविनले अघिल्लो वर्ष अष्ट्रेलिया टूर समेत गरेका थिए। एक महिना लामो अष्ट्रेलिया टूर अन्तर्गत डार्विनको नेपाल फेष्टिभलसहित विभिन्न शहरमा उनले कन्सर्ट दिएका थिए।

अभिनयमा समेत हात हालेका गायक तामाङले ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत एक दर्जन बढी नेपाली फिल्ममा अभिनय गरेका छन्। उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो जहाँ उनी ग्याङस्टर रोलमा थिए। उनले हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा समेत अभिनय गरेका छन्।