कोशीमा सरकार गठनका लागि दिएको समय सीमा आज सकिँदै

कोशीमा सरकार गठनका लागि दिएको समय सीमा आज सकिँदै


काठमाडौँ ।

कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आज दाबी पेस हुँदैछ। प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दलहरूलाई दिएको समय सीमा आज सकिने भएकाले नयाँ सरकारका लागि दाबी पेस हुने भएको हो।

प्रदेश प्रमुख खापुङले गत १७ गते संविधानको धारा १६७ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनको लागि दाबी पेस गर्न समय दिएका थिए। उनले दिएको समय आज साँझ ५ बजे सकिँदै छ।

मुख्यमन्त्री नियुक्तिका लागि कांग्रेस, माओवादी, नेकपा एस र समाजवादीले दाबी पेस गर्ने तयारी गरेको स्रोतले जनाएको छ। यसमा राप्रपालाई पनि सहभागी गराउने प्रयास भइरहेको छ।

प्रदेशमा नयाँ सरकार गठनका लागि नेताहरु दौडधुपमा छन्। कोशीका नेताहरु लविङका लागि काठमाडौंम छलफलमा व्यस्त रहेका छन्।

सत्ता गठबन्धनले मुख्य मन्त्रीका लागि कांग्रेसका नेता उद्धव थापालाई अघि सोको छ। उनलाई राप्रपाको साथ चाहिन्छ। राप्रसाको यो प्रदेशमा ६ सिट रहेको छ। राप्रपाले साथ नदिए यो सरकार पनि महिनादिनपछि अन्योलमा रहने भएकाले राप्रपा सरकारमा आवश्यक रहेको हो। तर, राप्रपाले सहयोग गर्ने या नगर्नेबारे निर्णय लिइसकेको छैन।

कोशीमा कांग्रेसको २९, माओवादीको सभामुखसहित १३, नेकपा एसको ४ र जसपाको १ सिट छ । जुन ४७ हुन आउँछ। ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ नै आवश्यक संख्या हो।

सभामुखसहित ४७ भएकाले विश्वासको मत लिँदा उनले बराबरी भएको अवस्थामा मात्रै मत दिन पाउनेछन्। एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार गत १५ गते प्रदेशसभाबाट विश्वासको मत लिन नसकेपछि ढलेको थियो। यसअघि उनलाई समर्थन गरेको माओवादी र जसपाले समर्थन फिर्ता लिएका थिए।