कार्लो एन्सेलोटी ब्राजिलको मुख्य प्रशिक्षक बन्ने

कार्लो एन्सेलोटी ब्राजिलको मुख्य प्रशिक्षक बन्ने


काठमाडौँ ।

स्पेनिस फुटबल क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी सन् २०२४ मा ब्राजिलको मुख्य प्रशिक्षक बन्ने भएका छन्। इटालिका एन्सेलोटी सन् २०२४ को कोपा अमेरिका फुटबल प्रतियोगिताबाट ब्राजिलको प्रशिक्षक जिम्मेवारी सम्लानेछन्।

ब्राजिलियन फुटबल कन्फेडेरेसन (सीबीएफ)का अध्यक्ष एडनाल्डो रोड्रिग्सले आगामी वर्षको जुन र जुलाईमा संयुक्त राज्य अमेरिकामा आयोजना हुने कोपा अमेरिकाबाट एन्सेलोटी ब्राजिलको प्रशिक्षक बन्ने औपचारिक घोषणा गरेका मड्रिडमा आधारित पत्रिका मार्काले जनाएको छ।

सीबीएफले विज्ञप्ति जारि गर्दै फर्नान्डो दिनिज (फ्लुमिनेन्स) ले एन्सेलोटी नहुँदासम्म पाँच पटकको विश्व च्याम्पियनको नेतृत्व गर्ने बताएको छ। ६४ वर्षीय इटालियन प्रशिक्षक एन्सेलोटीको रियल म्याड्रिडसँग सन् २०२४ को जुनसम्मको सम्झौता रहेको छ।

डिसेम्बरमा कतारमा भएको फिफा विश्वकपको क्वार्टरफाइनलमा क्रोएसियासँग पराजित भएपछि सन् २०१६ देखि जिम्मेवारीमा रहेका ब्राजिलियन प्रशिक्षक टिटेले आफ्नो जिम्मेवारी त्यागेका थिए।