काठमाडौं । नेपाली रक गायक रविन तामाङको निधन भएको छ । बुढानीलकण्ठस्थित आफ्नै निवासमा मंगलबार साँझ उनी मृत भेटिएका हुन् । परिवारका सदस्यहरुले निरन्तर सम्पर्क गर्ने प्रयास गर्दा पनि सफल हुन नसकेपछि प्रहरीलाई खबर गरिएको र प्रहरीले उनको घरमा गई हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए ।
प्रहरीले घटना शंकास्पद नरहेको भन्दै पोष्टमार्टमका लागि शवलाई अस्पताल पठाइएको जनाएको छ । गायक रविन तामाङकै फेसबुकबाट उनको निधन भएको पुष्टि गरिएको थियो ।
गायक तामाङको असामयिक निधनको खबरले नेपाली संगीत जगत स्तब्ध भएको छ भने सहकर्मीहरुले समाचार अविश्वसनीय रहेको बताइरहेका छन् । प्रहरी प्रभाग बुढानिलकण्ठका प्रहरी निरीक्षक दिपेन्द्र चन्दका अनुसार मंगलबार साँझ ६ बजे प्रहरी कन्ट्रोलमा फोन आएको थियो। यसपछि प्रहरीको टोली उनको घरमा पुग्दा उनी मृत फेला परेका थिए ।
गायक रविन तामाङले गाएका ‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठीकै छ’ जस्ता कयौं गीत युवापुस्तामाझ चर्चित छन् । फरक शैलीको गायन र प्रस्तुतिले धेरै रक संगीतप्रेमीबीच उनले अमिट छाप छोडेका छन् । गायक रविनले अघिल्लो वर्ष अष्ट्रेलिया टूर समेत गरेका थिए । एक महिना लामो अष्ट्रेलिया टूर अन्तर्गत डार्विनको नेपाल फेष्टिभलसहित विभिन्न शहरमा उनले कन्सर्ट दिएका थिए ।
अभिनयमा समेत हात हालेका गायक तामाङले ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत एक दर्जन बढी नेपाली फिल्ममा अभिनय गरेका छन् । उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो जहाँ उनी ग्याङस्टर रोलमा थिए । उनले हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा समेत अभिनय गरेका छन् ।
प्रतिक्रिया