एनआरएनए न्यु साउथ वेल्सको संयोजकमा सुकिर्ति भट्टको उम्मेदवारी घोषणा

एनआरएनए न्यु साउथ वेल्सको संयोजकमा सुकिर्ति भट्टको उम्मेदवारी घोषणा


मेलबर्न अष्ट्रेलिया ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) न्यु साउथ वेल्सको संयोजकमा सुकिर्ति भट्टले उम्मेदवारी घोषणा गरेकी छन्। आज (जुलाई ३ तारिख सोमबार) सिड्नीमा एक कार्यक्रमकाबीच भट्टले आगामी २०२३–२५ सम्मको कार्यकालका लागि एनएसडब्लुको संयोजकमा स्वतन्त्र उम्मेदवारी दिएकी हुन्। 

अष्ट्रेलियाको नेपाली समाजको हकहितका लागि सक्रिय रहेकी भट्ट अघिल्लो (२०२१–२३) को कार्यकालमा एनएसडब्लुको उपसंयोजक पदमा रहेर काम गरिसकेकी छन्। एनएसडब्लुका विभिन्न नेपाली संघ संस्थामा आबद्ध भएर अनुभव सगालिसकेकी भट्टले एनआरएनए एनएसडब्लुको संयोजक पदका लागि आफू योग्य भएको दाबी गरिन्। 

यी हुन भट्टका चुनावी एजेण्डा

उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै उनले एनआरएनएमा राजनीतिकरण भएको महसुस भएपछि आफुले स्वतन्त्र उम्मेदवारी दिएको बताइन्। उनले अष्ट्रेलियाको नेपाली समुदायले एनआरएनए राजनीति भन्दा अलग भएको हेर्न चाहेकाले यो आफ्नो सानो प्रयास भएको बताइन्। उनले एनआरएनएको निर्वाचनमा प्यानलको नाममा नेपाली समुदायलाई विभाजन गर्न नहुने भन्दै आफू एनएसडब्लुमा रहेको नेपाली समुदायको साझा उम्मेदवार भएको बताइन्। 

उम्मेदवारी घोषणापछि सामुहिक तस्बिर खिचाउँदै सुकिर्ति भट्ट

तपाईले एनएसडब्लुको संयोजक पदमा निर्वाचित हुने आधार के–के छन ? भन्ने पत्रकारको प्रश्नमा भट्टले एजेण्डा नै आफ्नो चुनाव जित्ने आधार भएको जवाफ दिइन्। भट्टको उम्मेदवारी घोषणा सभामा पत्रकार, एनएसडब्लुका विभिन्न संघ संस्थाका पदाधिकारीको उपस्थिति रहेको थियो। 

कार्यक्रमको अन्तमा उनले विभिन्न संघ संस्थामा बसेर काम गर्दाको अनुभवलाई यस संस्थाको हितमा लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी कार्यकालका लागि आफ्नो उम्मेदवारी रहेकाले भोट दिएर जिताउन अनुरोध गरिन्। 

एनआरएनए अष्ट्रेलियाको नयाँ नेतृत्व चयनका लागि आगामी जुलाई २९ तारिखमा निर्वाचन हुँदैछ।