अस्ट्रेलियामा आज ६० वर्षयताकै धेरै तापक्रम मापन !

अस्ट्रेलियामा आज ६० वर्षयताकै धेरै तापक्रम मापन !


काठमाडौं, २९ पुस । दक्षिण अस्ट्रेलियामा आज झन्डै ६० वर्षयताकै धेरै तापक्रम मापन भएको छ । आज मार्डी र रोबनमा ५० दशमलव ७ डिग्री सेल्सियस तापक्रम मापन भएको बीबीसीले जनाएको छ । योभन्दा अगाडि सन् १९६२ मा पनि त्यहाँ ५० दशमलव ७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । पानी नपरेर तातो हावा फैलिएकाले मार्डी र रोबन सहरमा बढी तापक्रम मापन गरिएको हो ।
तापक्रम बढेपछि मानिसहरूलाई घरभित्रै बस्न भनिएको छ । बाहिर निस्कन परेमा सितल छायामा बस्न र सितल झोलिलो पदार्थ खानका लागि भनिएको छ । अस्ट्रेलियाको विभिन्न ठाउँमा डढेलो फैलनुका साथै जलवायु परिवर्तनको असरका कारण गर्मी बढेको विज्ञले बताएका छन् । अहिले पनि मारगेट नदी आसपासको ६ हजार हेक्टर क्षेत्रफलमा रहेको जङ्गलमा डढेलो लागिरहेको छ । त्यस आसपास क्षेत्रमा पानी कम मात्रै पर्ने गरेको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार अस्ट्रेलियाको अहिलेको औसत तापक्रम ३६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । जलवायु परिवर्तनका कारण अस्ट्रेलियामा एक दशमलव दुई डिग्री सेल्सियसका दरले तापक्रम बढ्दै गएको विज्ञले बताएका छन् ।