काठमाडौँ ।
आइसीसी क्रिकेट विश्वकप क्वालिफायरको प्लेअफ अन्तर्गत नेपालले युएईलाई ३ विकेटले हराएको छ। जिम्बावेको हरारेमा यूएईले दिएको १ सय ८२ रनको समान्य लक्ष्य नेपालले ४३ ओभर २ बलमा ७ विकेटको क्षतिमा पूरा गरेको हो।
नेपालका लागि दिपेन्द्रसिंह ऐरीले अविजित ७९ रन बनाए । यस्तै कुशल भुर्तेल ३५, सन्दिप लामिछाने अविजित २३, ज्ञानेन्द्र मल्ल १३ र गुल्शन झाले १२ रन बनाए।
युएईका लागि बलर महोम्मद जबदुल्लहाले ३ विकेट लिए। यस्तै जुनायद सिद्धिकी, अलि नसिर, सन्जित शर्मा र रोहन मुस्ताफाले समान एक–एक विकेट लिए।
यसअघि हरारे स्पोर्ट्स मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले ४६.२ ओभरमा १८१ रनमा अलआउट भयो। युएईका लागि वृत्य अरविन्दले ४४ रन बनाए।
यस्तै रोहन मुस्ताफा ३५, वशिल हमेद २९, ओपनर आर्यन्स शर्माले २८, सन्जित शर्मा १२ र रमेज शहाजदले १० रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्।
नेपालका लागि बलर करन केसी र सन्दिप लामिछानेले ३–३ विकेट लिए। यस्तै गुल्सन झा, दिपेन्द्र सिंह ऐरी र प्रतिश जिसीले समान एक–एक विकेट लिए।
अब नेपालले सातौ स्थानको लागि आयरल्याण्डसँग खेल्ने छ । शुक्रबार भएको प्लेअफको पहिलो सेमिफाइनलमा आयरल्याण्डले अमेरिकालाई पराजित गरेको थियो।
प्लेअफको फाइनल जित्ने देश सातौं स्थानमा हुने छ भने पराजित हुने टिम आठौ स्थानमा रहने छ। साथै सेमिफाइनलमा पराजित दुई देशले नवौं र दशौँ स्थानका लागि खेल्ने छन्।
प्रतिक्रिया