‘एनटीएसए फुटसल च्याम्पियनसिप २०२३’ सम्पन्न

‘एनटीएसए फुटसल च्याम्पियनसिप २०२३’ सम्पन्न


होबार्ट, अष्ट्रेलिया ।

नेप्लिज तास्मानिया स्पोर्टस एसोसियसन (एनटीएसए)ले आयोजना गरेको ‘एनटीएसए फुटसल च्याम्पियनसिप २०२३’ सम्पन्न भएको छ। शनिवार होबार्टको फुटसल तस्मानिया कोर्ट गुडवुडमा भएका विभिन्न तीन विधाका खेलका उपाधिको छिनोफानो भएसँगै ‘एनटीएसए फुटसल च्याम्पियनसिप २०२३’ सम्पन्न भएको हो। 

पुरुष खुला तर्फको उपाधि नेप्लिज फुटबल क्लब तास्मानिया (ग्रे)ले जितेको छ। फाइनल खेलमा नेप्लिज फुटबल क्लब तास्मानिया (एलो)लाई ६–३ गोल अन्तरले पराजित गर्दै एनटीएसए फुटसल च्याम्पियनसिप २०२३ को उपाधि उचालेको हो। जितसँगै एनएफसीटी (ग्रे)ले ट्रफी, मेडल एक हजार अष्ट्रेलियन डलर नगद पुरस्कार प्राप्त गरेको छ। यस्तै प्रतियोगितामा दोस्रो हुने एनएफसीटी (एलो)ले मेडल र नगद पाँच सय अष्ट्रेलियन डलर पुरस्कार पाएको छ। 

खेलको उत्कृष्ट गोलकिपर बेद गुरुङ, हाईएस्ट स्कोरर घाना कोइराला र उत्कृष्ट खेलाडीमा बिशाल गुरुङ घोषित भएका थिए। खेलका उत्कृष्ट खेलाडीलाई मेडलसहित सम्मान गरिएको थियो। हाईएस्ट स्कोररको मेडल जितेका घाना कोइरालाले प्रतियोगिता भरी १० गोल गरेका थिए। 

खुला पुरुष तर्फ ९ टिमको सहभागिता रहेको थियो। जसमा भुटानिज कम्युनिटी एसोसियसन अफ साउथर्न तास्मानिया (बीकास्ट), एभेरेष्ट इनेराइज, तिलिचो, नेप्लिज फुटबल क्लब तास्मानिया (ग्रे), नेप्लिज फुटबल क्लब तास्मानिया (एलो), मार्फा (बुलु), मार्फा (रेड), टाकिन, नेप्लिज फुटबल क्लब तास्मानिया (सिनियर) रहेका थिए। 

प्रतियोगिताको फेयर प्ले टिम तिलिचो घोषित भएको थियो। प्रतियोगिताका सहभागि टिमलाई दुई ग्रुपमा विभाज गरेर खेला खेलाइएको थियो।

एनटीएसएले कर्पोरेट हाउस र सोसियल अर्गनाइजेसनबीच ‘एनटीएसए सोसियल फुटसल कप’को आयोजना पनि गरेको थियो। ‘एनटीएसए सोसियल फुटसल कप’को उपाधि नेप्लिज बिजनेस एसोसियसन (एनबीए)ले जितेको छ। फाइनल खेलमा सोसियल (बी)लाई हराउँदै एनबीएले उपाधि जितेको हो। जीतसँगै एनबीएले ट्रफी, मेडल पाएको छ। एनटीएसए सोसियल फुटसल कप प्रतियोगितामा चार टिमले सहभागिता जनाएका थिए। 

यस्तै ‘एनटीएसए महिला फुटसल कप’को पनि आयोजना गरेको थियो। महिला फुटसल कपको उपाधि स्नो पान्डाले जितेको छ। फाइनलमा बिकास्टलाई ३–१ गोल अन्तरले पराजित गर्दै स्नो पान्डाले उपाधि जितेको हो। उपाधि जितेसँगै स्नो पान्डाले मेडल प्राप्त गरेको छ।

खेलमा महिलाहरूको पनि सहभागिता होस भन्ने उद्देश्यले महिला फुटसल कपको आयोजना गरिएको एनटीएसएका प्रवक्ता हरि गोतामेले जानकारी दिए। 

पुरस्कार वितरण समारोमा बिएमडब्लु एजुकेसन कन्सल्टेन्सीका मञ्जु पाठक, एनबीएका अध्यक्ष रेवन्त बस्नेत, एनटीएसएका अध्यक्ष विस्नु सापकोटा र विभिन्न संघ संस्थाका पदाधिकारीको पनि उपस्थिति रहेको थियो। 

बिएमडब्लु एजुकेसन कन्सल्टेन्सी टाईटल स्पोन्सर रहेको उक्त फुटसल प्रतियोगितालाई व्हिस्की र व्हिस्कर बारबार सोप, क्वीयुबीइ मोर्टेज सर्भिसेज, घुम्ती अन ह्वील्स, लंघाली क्याफे एण्ड रेष्टुरेन्टले सहयोग गरेको छ। कार्यक्रमको मिडिया पार्टनर केबीसी खबर रहेको छ। 

तस्बिरः एमके फोटोग्राफी