३० मिनेटलाई स्थगित भएको कोशी प्रदेश सभाको बैठक आजै ८ बजे बस्दै

३० मिनेटलाई स्थगित भएको कोशी प्रदेश सभाको बैठक आजै ८ बजे बस्दै


काठमाडौँ ।

३० मिनेटका लागि स्थगित भएको कोशी प्रदेशको प्रदेश सभा बैठक अहिले साँझ ८ बजे बस्न लागेको छ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा विश्वासको मत लिनका लागि बोलाइएको प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री कार्कीले आफूलाई विश्वासको मत मागिसकेका छन्।

उनले विश्वासको मत मागेपछि दलका नेताहरूले बोल्ने क्रम समेत सकिएको छ। त्यसपछि सभामुख बाबुराम गौतमले ३० मिनेटका लागि स्थगित गरेको प्रदेश सभा बैठक सुरु हुन सकेको थिएन। प्रदेश सभा परिसरबाट केही तयारी गर्न भन्दै मुख्यमन्त्री कार्की निस्किएका थिए। प्रदेश सभा सदस्यहरू भने बैठक सुरु हुने कि नहुने भन्ने अन्योलमा रहेका थिए।

प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले ३० मिनेटसम्मको लागि स्थगन भएकोमा विशेष कारण बस स्थगन पछिको आजको बैठकको कारबाहीका लागि २०८०र३र१४ गते साँझ ८ बजे बस्ने व्यहोराको सूचना प्रकाशित गरेका छन् ।

९३ सदस्यीय कोशी प्रदेश सभामा एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कार्कीलाई ६ सिट रहेको राप्रपाले विश्वासको मत दिने बचन दिइसकेको छ। प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न ४७ सिट आवश्यक हुने भए पनि एमालेको ४० सिट र राप्रपाको ६ सहित ४६ सांसद मात्रै रहेका छन्।

प्रदेश सभाको बैठकमा बोल्ने क्रममा नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एसले भने सरकारलाई विश्वासको मत दिन नसकिने बताइसकेका छन्। त्यस्तै एक सांसद रहेको जनता समाजवादीले भने एमालेसहित कुनै पनि दलको पक्षमा मतदान नगर्ने भन्दै बिहीबार अपरान्ह नै विज्ञप्ति निकालेर जानकारी गराइसकेको छ।