काठमाडौँ ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार गठन भएको आइतबार ‘असार १० गते) ६ महिना पूरा भएको छ। नेतृत्व सम्हालेको ६ महिनामा प्रधानमन्त्री प्रचण्डले गरेका काम ७७ बुँदामा सार्वजनिक गरिएको छ।
७९ पुस ११ गते नियुक्ति भएका प्रधानमन्त्री प्रचण्ड सरकारले असार १० गतेसम्मको कार्यप्रगति सार्वजनिक गरेका हुन्। उक्त ६ महिनाको अवधिमा गरेका काममा अर्थतन्त्रको पुनरुत्थान र सबलीकरण, सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण, नागरिकमैत्री प्रशासनको स्थापना, भष्टाचार नियन्त्रणलगायतलाई समेटिएको छ।
पुस १० मा सरकार बनेयताको उपलब्धी सार्वजनिक गर्दै प्रधानमन्त्री प्रचण्डले थप २।४१ प्रतिशत जनतामा विद्युतको पहुँच विस्तार गरेको बताएका छन।
कागजरहित सरकारको अवधारणा कार्यान्वयन गर्न एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमा ६० निकाय आबद्ध भएको र हालसम्म २८ निकायमा उक्त प्रणाली सञ्चालनमा आएको उनको भनाइ छ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको उपलब्धीमा बताएका प्रचण्डले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू नियमित गर्नेसम्बन्धी कार्ययोजना तयार गरिएको बताएका छन्।
यस्तै भ्रष्टाचार न्यूनीकरणमा सरकारले नयाँ मानक स्थापित गरेको प्रधानमन्त्रीको दाबी छ। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई राज्यका तीनै तहमा कडाइका साथ कार्यान्वयन गरिएको छ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई विदेश पठाउने प्रकरणको निष्पक्ष र तथ्यपरक छानबिन गरी दोषीहरूलाई कानूनी दायरामा ल्याइएको छ,’ उपलब्धीको चर्चा गर्दै भनिएको छ, ‘मिटरब्याजी पीडितहरूको समस्या समाधान गर्न मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनमा संशोधन गरिएको। यस सम्बन्धमा जाँचबुझ आयोग, गठन गरी हालसम्म दर्ता भएका २३ हजार १ सय १८ उजुरीउपर कारवाही भइरहेको छ।
प्रतिक्रिया