काठमाडौँ ।
इंग्लिस क्लब म्यानचेस्टर सिटीले चेल्सीका मिडफिल्डर माटेओ कोभासिचलाई भित्र्याएको छ। सिटीले क्रोयसियन मिडफिल्डर कोभासिचलाई प्रारम्भिक २५ मिलियन पाउन्डमा चार वर्षका लागि अनुबन्ध गरेको बीबीसीले जनाएको छ।
२९ वर्षीय कोभासिचका लागि थप पाँच मिलियन युरो थप्न सकिने सम्झौता भएको छ। इंग्लिस प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिगसहित उपाधिमा ‘ट्रेबल’ पूरा गरेपछि सिटीले कोभासिचको रुपमा पहिलो खेलाडी अनुबन्ध गरेको हो।
कोभासिच सन् २०१८ मा स्पेनिस क्लब रियल मड्रिडबाट लोनमा चेल्सीमा आएपनि पाँच वर्षको सम्झौता गरेका थिए। उनले चेल्सीका लागि ३७ खेल खेलेका थिए। चेल्सीले सन् २०२१ मा च्याम्पियन्स लिगको उपाधि जित्दा कोभासिच टिमका सदस्य थिए।
उनले क्रोएसियाका लागि ९५ अन्तर्राष्ट्रिय खेल खेलेका छन्। गत वर्षको फिफा विश्वकपमा क्रोएसिया तेस्रो हुँदा उनले सबै खेल खेलेका थिए।
प्रतिक्रिया