‘परस्त्री’को हिन्दी संस्करण नेपालमा प्रदर्शन नहुने

‘परस्त्री’को हिन्दी संस्करण नेपालमा प्रदर्शन नहुने


काठमाडौँ ।

रिलिजको केही दिनअघि ‘परस्त्री’ निर्माण टिमले चलचित्रको प्रदर्शन शैलीमा फेरबदल गरेको छ। शुक्रबारबाट नेपाल र भारतमा एक साथ प्रदर्शनमा आउन लागेको चलचित्रले नेपालमा भने हिन्दी संस्करण प्रदर्शन नगर्ने जानकारी गराएको छ।

यसअघि फिल्मको हिन्दी संस्करण नेपालमा समेत प्रदर्शन गर्ने तयारी थियो।

मंगलबार सामाजिक सञ्जालमा जानकारी राख्दै निर्देशक सुरज पाण्डेले हिन्दी भाषामा रहेको चलचित्र भारतमा मात्र प्रदर्शन हुने जनाएका थिए। उनले लेखेका छन्: ‘हामीले निर्माण गरेको नेपाली र हिन्दी भाषाको चलचित्र परस्त्री यही असार १५ गते देखि नेपाल र भारतमा एकैसाथ प्रदर्शन हुने कुरा दर्शकलाई जानकारी गराउन चाहन्छु। साथै हिन्दी भाषामा रहेको चलचित्र परस्त्रीको संस्करण भारतमा मात्रै प्रदर्शन हुनेछ भने नेपाली भाषामा रहेको चलचित्र परस्त्री नेपालमा प्रदर्शन हुनेछ।’

निर्माण टिमले अन्तिम समयमा निर्णय बदल्ने कारणबारे भने केही उल्लेख गरेको छैन। पारिवारिक सम्बन्धमा हुने विश्वासघातको कथामा बनेको फिल्ममा शिल्पा मास्केले शीर्ष भूमिका निर्वाह गरेकी छिन्। दीपेन्द्र के खनालको लेखन रहेको फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन्।

निर्देशक सुरज पाण्डे अहिले कलाकारको टोली लिएर भारतका विभिन्न राज्यमा पत्रकार सम्मेलन गर्दै फिल्मको जानकारी बाँडिरहेका छन्।